नगद ५ लाख बढी रकमसहित १८ जवाडे पक्राउ
दाङमा प्रहरीले छटुटाछुट्टै दुई स्थानबाट ५ लाख २२ हजार एक सय १५ रुपैयाँ नगदसहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ।
विशेष सुराकीको आधारमा प्रहरीले देउखुरीको राप्ती गाउँपालिका–५ सिसहनियाँ बजारबाट नगद दुई लाख ६० हजार एक सय २५ रुपैयाँसहित दशजना र पश्चिम दाङको बबई गाउँपालिका–३ धनुवासबाट नगद दुई लाख ६१ हजार नौ सय ९० रुपैयाँसहित ८ जना जुवाडेलाई पक्राउ गरेको हो।
शुक्रबार राती देउखुरीको राप्ती गाउँपालिका–५ सिसहनिया बजारस्थित दर्शन खाजा घरको कोठामा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई लाख साठ्ठी हजार एक सय पच्चिस रुपैयाँ नगदसहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्।
प्रहरीले उनीहरूको साथबाट खोलेको ४ गड्डी र नखोलेको ४२ गड्डीसहित राप्ती गाउँपालिका–७ निवासी ३७ वर्षीय दिपेन्द्रबिक्रम शाह, सोही ठाउँ निवासी २९ वर्षीय मोहन गाहा मगर, रोल्पा सुनिलस्मृति गाउँपालिका ७ निवासी २८ वर्षीय नारायण रोकामगर, राप्ती गाउँपालिका निवासी ३० वर्षीय बिक्रम राना, सोही ठाउँ निवासी ३० वर्षीय श्याम गुरूङ रहेका छन्।
त्यसैगरी सोही ठाउँ निवासी २८ वर्षीय बसन्त बेल्वासे, सोही ठाउँ निवासी ३० वर्षीय लक्ष्मण गिरी, राप्ती गाउँपालिका वडा नम्बर ५ निवासी ३० वर्षीय छोटेलाल चौधरी, वडा नम्बर ८ निवासी ४५ वर्षीय बेलसिंह भैयामगर र वडा नम्बर २ निवासी ३८ वर्षीय युवराज बुढा रहेका छन्।
त्यसैगरी प्रहरीले पश्चिम दाङको खिलतपुरबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ। बबई गाउँपालिका वडा नम्बर ३ धनुवासस्थित केशब भन्ने केशकुमार बिकको घरमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटी गएको प्रहरी टोलीले घरमा जुवातास खेलिरहेको अवस्थामा केश कुमार बिकसहित ८ जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट २ लाख ६१ हजार ९ सय ९० रुपैयाँसमेत बरामद गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा बबई गाउँपालिका-३ निवासी लोक बहादुर खड्का, सोही ठाउँ निवासी ४९ वर्षीय पर्साराम बिक, सोही ठाउँ निवासी २४ वर्षीय शेरबहादुर बिक, सोही ठाउँ निवासी २४ वर्षीय प्रेम पुन, सोही ठाउँ निवासी सुन्दरखाल बस्ने ३२ वर्षीय बिमल भन्ने बिनबहादुर घर्ती, सोही ठाउँ निवासी २९ वर्षीय बिक्की नेपाली र सोही ठाउँ निवासी २९ वर्षीय भीमबहादुर भन्ने भाइलाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।