गाडीसहति लागुऔषध कारोबार गर्ने गिरोह पक्राउ
रोल्पामा शनिबार एउटा स्कार्पियो गाडीसहित लागुऔषध कारोबार गर्ने गिरोह पक्राउ परेको छ।
जिल्लाको सुनिलस्मृति गाउँपालिका-२ खुङ्ग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित ५ जना र गाडी नियन्त्रमा लिएको हो।
रोल्पाको सुलिचौरबाट दाङ जाँदै गरेको बा१५च ३७७६ नम्बरको स्कार्पियो गाडी शनिबार बेलुका ६ बजेतिर खुङ्ग्री चेकपोष्टमा चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध अफिमसहित गाडिमा सवार ३ महिला र चालकसहित २ पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।
पक्राउ पर्नेहरूमा रुकुमपूर्व भूमे गाउँपालिका-४ का ३७ वर्षीया ज्योती घर्ती, सोही ठाउँकै ३० वर्षीया निसा पुन, दाङ हारपुर गाउँपालिका-६ रवानाका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्बाकोट नगरपालिका-९ चिसापानीका ३३ वर्षका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका-१ सेरम घरभई हाल दाङ घोराई उपमहा नरपालिका-४ राप्तीटोल बस्ने ३५ वर्षका याम बहादुर घर्तीमगर रहेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। केहि दिनअघि मात्रै रोल्पा प्रहरीले थबाङबाट ९ किलो अफिमसहित दुई महिलालाई पक्राउ गरेको थियो।