सञ्जाल रुपन्देहीद्वारा १९ गतेदेखि लुम्बिनी बन्दको घोषणा

सञ्जाल रुपन्देहीद्वारा १९ गतेदेखि लुम्बिनी बन्दको घोषणा

बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले  राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यवसायिक संघसंस्थाहरूको संयुक्त संस्था (सञ्जाल) को गम्भीर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्। 

सञ्जाल रुपन्देहीले खिम बहादुर हमाल संयोजक र यमलाल लोहनी सह संयोजक रहेको संघर्ष समितिसमेत गठन गरेको छ।

विरोधको कार्यक्रम अनुसार प्रधानमन्त्री र मुख्य मन्त्रीलाई ज्ञापन पत्र दिनेदेखि लुम्बिनी बन्दसम्म गर्ने कार्यक्रम राखेको छ। सञ्जालका अनुसार असोज १८ गते विहान ८ बजेदेखि बुटवलको चौराहाबाट विरोध र्‍याली आयोजनासहित ट्राफिक चौकमा कोण सभा गर्ने, १९ गते विहान ९ बजेदेखि साविक लुम्बिनी अञ्चल बन्दको घोषणा गर्ने समेत सञ्जालले निर्णय गरेको सहसंयोजक लोहनीले जानकारी दिए।

हालसम्म राजधानीको सन्दर्भमा भएगरेका तयारी, भौतिक पूर्वाधारमा राज्य कोषबाट गरिएको व्ययभार, व्यवसायिक संघसंस्थाबाट भएको योगदान र बहुसंख्यक जनताको भावना बिपरित हठात् राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेश गरिएको बिषयले निजी क्षेत्र मात्रै नभएर प्रदेशका बहुसंख्यक जनतालाई दुःखी बनाएको सञ्जालको विज्ञप्तीमा उल्लेख छ।

'राजधानी सार्ने प्रस्ताव पुनर्विचार गर्न र जनभावनाको समेत कदर गर्न हामी सरकारसंग जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ। 


Leave a Reply

Your email address will not be published.