कोरोना संक्रमणबाट २९ वर्षीया सुत्केरीको मृत्यु

कोरोना संक्रमणबाट २९ वर्षीया सुत्केरीको मृत्यु

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ।

भीमदत्त नगरपालिका २ महेन्द्रनगर कञ्चनपुर निवासी २९ वर्षीया सुत्केरीको आज उपचारकै क्रममा मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्माएपछि पाठेघरको शल्यक्रिया गरिएको थियो। 

त्यहाँ आठ पिन्ट होल रगत र चार पिन्ट प्लेटीलेस रगत दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा सिफारिस गरिएको थियो। 

सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। 

असोज १५ गते अपराह्न ४ बजे शिक्षण अस्पतालमा भर्ना हुँदा बिरामीको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए। 

बिरामीको अवस्थानुसार गरिनुपर्ने सबै प्रकारका उपचार गर्दा समेत अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए। 

यससँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। बाँकेका मात्रै २० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ। रासस
 


Leave a Reply

Your email address will not be published.