गण्डकी प्रदेशमा ८१ संक्रमित थपिए, एकको मृत्यु

गण्डकी प्रदेशमा ८१ संक्रमित थपिए, एकको मृत्यु

गण्डकी प्रदेशमा आज ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

चितवन मेडिकल कलेज र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ६ जिल्लाका ८१ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

कोरोना पुष्टि हुनेमा नवलपुरका ५२, तनहुँका १८, लमजुङका पाँच, बागलुङका तीन, स्याङ्जाका दुई र गोरखाका एक जना छन्। 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ९७ पुगेको छ। तीमध्ये २७ सय ४५ जना निको भएका छन्। 

थप एक संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दुम्कीबासका ३६ वर्षे पुरुषको भरतपुर अस्पताल चितवनमा मृत्यु भएको हो। 

उनको शनिबार उक्त अस्पतालको कोभिड आइसियुमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

ती पुरुषमा १३ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार उनमा कलेजो र मुटुको समस्या थियो। 

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ। मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका सात, गोरखाका ६, तनहुँका पाँच, स्याङ्जाका तीन, बागलुङ, म्याग्दी र लमजुङका एक/एक जना छन्।


Leave a Reply

Your email address will not be published.