कोषबाट खेलाडीहरूलाई उपचार खर्च प्रदान

कोषबाट खेलाडीहरूलाई उपचार खर्च प्रदान

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ।
एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई ४ लाख रुपैयाँ प्रदान गरिएको हो।

एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो। क्यान्सर रोगबाट पीडित राईको साउन १९ गते निधन भएको थियो। राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई उक्त रकम हस्तान्तरण गरियो।

स्व. राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन्। उनको दुवै आँखाको ज्योति गुमेको छ।

बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको हो। तीनै खेलाडीलाई घुँडाको समस्या छ। मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

राखेपका सदस्य सुभाष श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायत उपस्थित थिए।

२०६८ सालमा कल्याणकारी कोष समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जनाएका छन्।

कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिँदै आएको छ। २०७२ सालको महाभूकम्पबाट ज्यान गुमाएका खेलाडी, प्रशिक्षक गरी १२ परिवारलाई समान १–१ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो।

भूकम्पकै कारण क्षति बेहोरेका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग दिइएको थियो। त्यसबाहेक समयस्यामा परेका खेलाडीलाई विभिन्न समयमा कोषले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।


Leave a Reply

Your email address will not be published.