प्रधानमन्त्रीलाई देउवाको अपिल- डा. केसीसँग वार्ता गरेर जीवन रक्षा गर्नुस् 

प्रधानमन्त्रीलाई देउवाको अपिल- डा. केसीसँग वार्ता गरेर जीवन रक्षा गर्नुस् 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा.गोविन्द केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अपील गरेका छन्। 

२१ दिनदेखि अनशनरत डा.केसीसँग अविलम्ब वार्ता गरेर उनको जीवनरक्षा गर्न देउवाले सरकारसँग माग गरेका हुन्।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै सभापति देउवाले आइतबार जारी गरेको सन्देशमा ‘डा.केसीको अनशन २१ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दासमेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्त दुःखद र गम्भीर छ’ भनिएको छ। 

चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चालेका केसीको माग एक व्यक्तिको नभएर प्रतिपक्षले समेत निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक एक्येवद्धता जनाइसकेको देउवाले बताएका छन्। 

‘जनभावना अनुरुपका माग र आवाजलाई सुनवाइ गर्नु सरकारको कर्तव्य हुन्छ,’ देउवाले भनेका छन्, ‘तर, सरकारले केसीसँग दुर्व्यवहार गर्नुका साथै अहिलेसम्म संवाद नगरेर समाधानका लागि उदासीन देखिनु लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ।’ 

आफू नेतृत्वको पछिल्लो सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ वर्तमान सरकारले खारेज गरेको परिणामस्वरु अहिलेको स्थिति उब्जिएको देउवाले दाबी गरेका छन्। 

वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा २०७५ साउनमा डा.केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीजारोपण सरकारले गरेको उनको भनाइ । 

‘संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा प्रस्तुत हुन म प्रधानमन्त्रीसँग आग्रह गर्दछु,’ देउवाले भनेका छन् ।


Leave a Reply

Your email address will not be published.