डा. केसीका जनसेवामुखी माग पूरा गरी जीवनरक्षा गरियोस् : लेखक संघ
नेपाली लेखक संघले सत्याग्रही चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ।
सिर्जना कर्मका माध्यमबाट सामाजिक लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको लेखक संघले डा. केसीले अनसन सुरु गरेको तीन हप्ता बितिसक्दा पनि सरकारले बेवास्ता गरेकफ भन्दै चिन्ता व्यक्त गरेको छ।
नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई जनमुखी बनाउन डा. केसीले उठाएका मुद्दाहरू जायज भएको भन्दै लेखक संघले ऐक्यबद्धता जनाएको छ।
आफैँले गरेका सम्झौता आफैँ उल्लघन गर्ने प्रवृत्तिले सरकारप्रतिको नागरिकको विश्वास टुट्दै गइरहेको भन्दै एउटै मागका लागि एउटा सत्याग्रहीलाई पटक पटक अनसन बस्न बाध्य बनाइनु लोकतन्त्रका लागि लज्जाको विषय भएको समेत विज्ञप्तिमा जनाइएको छ।
नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा यथाशिघ्र वार्ता गरी डा. केसीको जीवन रक्षा गर्न सरकारसँग जोडदार माग गरिएको छ।