काठमाडौंका अस्पताललाई हिमालय एयरलाइन्सले दियो स्वास्थ्य सामग्री
नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौंका विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
कोरोना भाइरस महामार विरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्यको सुनिश्चितता ध्यानमा राख्दै हिमालयले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी, राष्ट्रिय ट्रमा सेन्टर महाँकाल र मनमोहन मेमोरियल सामुदायिक अस्पताल फर्पिङलाई विविध चिकित्सा सामाग्री सहयोग गरेको हो।
काठमाडौं उपत्यकाभित्र रहेका स्वास्थ्य क्षेत्रका समुदायबीच आफ्नो सेवा पहुँच बढाउने प्रयासअनुसार हिमालयले कोभिड–१९ विरुद्धको लडाइँमा अत्यावश्यक १ सयथान पिपिइ सेट, १ सयथान आरडिटी परीक्षण किट, २ सय्थान सर्जिकल मास्क, २ सयथान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस सिल्ड, ५ सयथान शुकभर र पाँच बोतल स्यानिटाइजर प्रदान गरेको हो।
हिमालयको ब्रान्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्।
‘संस्थागत सामाजिक उत्तरदायित्व सुदृढीकरण गर्दै महामारीविरुद्ध लड्न अहोरात्र खटिरहेका अस्पतालहरूसँग हातेमालो गरी अघि बढ्न सधै तयार छौं,’ दलीले भनिन्, ‘महामारीविरुद्ध लड्न अग्रभागमा खटिएर जोखिम मोलिरहेका स्वास्थ्यकर्मीलाई चिकित्सा सामग्रीले केही राहत दिने विश्वास छ।’
महामारी सुरुवातमै हिमालयले सरकारको कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो।