पाँच लाखमा बलात्कार मुद्दा मिलापत्र गराउनेहरू पक्राउ 

पाँच लाखमा बलात्कार मुद्दा मिलापत्र गराउनेहरू पक्राउ 

प्रहरीले बलात्कारका मुख्य आरोपीसहित घटना ढाकछोप गर्न खोज्ने व्यक्तिहरुलाई सिरहाबाट पक्राउ गरेको छ। 

सिराहाको विष्णुपुर गाउँपालिका–१ मा एक किशोरीसँग भएको बलात्कारका आरोपीसहित ढाकछोप गरेर घटना मिलाउन खोज्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले किशोरी बलात्कारका मुख्य आरोपी स्थानीय २० वर्षीय मुकेशकुमार साहसहित ९ जनालाई नियन्त्रणमा लिएको छ। 

गत १२ गते मुकेशले किशोरीलाई बलात्कार गरेको प्रहरीको दाबी छ। 

पैसा लेनदेन गरेर घटनालाई ढाकछोप गरी अभियुक्तलाई उन्मुक्ति दिलाउने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

घटना ढाकछोप गर्न खोजेको आरोपमा प्रहरीले विष्णुपुर–१ का ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४२ वर्षीय रामउदगार यादव र ३५ वर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले जानकारी दिए। 

गाउँ घरमै पञ्चयती गरेर घटना मिलाउने खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पोखरेलले बताए। 

पञ्चयतीमा बसेका उनीहरुले बलात्कार आरोपीका आफन्त जगबीर यादव र शुत्रुध्न साहसँग ५ लाख रुपैयाँको कपाली तमसुकसमेत बनाएको पोखरेलको भनाइ छ। 

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


Leave a Reply

Your email address will not be published.