पहिलोपटक जनप्रतिनिधि संक्रमित भएको भक्तपुर नगरपालिका–९

पहिलोपटक जनप्रतिनिधि संक्रमित भएको भक्तपुर नगरपालिका–९

भक्तपुर नगरपालिकाभित्र जनप्रतिनिधिमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको पहिलो वडा हो ९। अहिलेसम्म यो वडामा १ सय ६ जना कोरोना संक्रमित भेटिएको वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए। 

उनका अनुसार तीमध्ये २३ जना निको भइसकेका छन् भने बाँकी ८३ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म २ सय ८६ जनाको कन्ट्याक्ट ट्रेसिङ भइसकेको छ। धेरै स्थानीयवासीमा नै कोरोना पोजिटिभ देखिएको छ। संक्रमित संख्या धेरै भए पनि मृत्यु दर भने शून्य छ। 

‘संक्रमित देखिएको पहिलो वडा नभए पनि जनप्रतिनिधि संक्रमित भेटिएको पहिलो वडा हाम्रो हो,’ वडाध्यक्ष ज्याख्वले आयोमेलसँग भने भन्छन्, ‘जनप्रतिनिधिमा कोरोना पोजिटिभ भएको हल्ला भएपछि सबैले मलाई नै संक्रमण भएको सोचेका थिए। त्यतिबेला हाम्रा वडाका जनप्रतिनिधि फिल्डमा जाने बेलामा वरिपरिका मान्छे परपर सर्ने गरेको आजै जस्तो लाग्छ।’

भक्तपुरमा सुरुसरुमा कोरोना पोजिटिभ भेटिएका ठाउँमा पूरा टोल नै सिल गर्ने गरेको उनी सुनाउँछन्। पछि स्थानीयले सिल गर्दा टोलकै बेइज्जत भएको र मानसिक तनाव भएको गुनासो गरेपछि पछि संक्रमितका घरमा ताला लगाइदिने गरेको उनले बताए। 

‘संक्रमित परिवार र टोलवासीको सहमतिमा करिब ३० घरमा ताला लगाइदिएका थियौं,’ उनले भने, ‘ताला लगाएको संक्रमित घरपरिवारलाई अत्यावश्यक खाद्यन्नदेखि औषधी, पानी सबैको जिम्मा वडाले नै लिने गरेको थियो।’

पछिल्लो समय भने कुनै पनि संक्रमितका ठाउँमा सिल नगरेको र संक्रमित परिवारको घरमा ताला पनि नलागाइकन उनीहरूका परिवारलाई बाहिर ननिस्कन आग्रह तथा सम्झाउने गरेको उनको भनाइ छ।

उनका अनुसार वडामा संक्रमित बढ्नुका कारण होम आइसोलेसन बस्न योग्य वातावरण नभएर हो। वातावरण नमिल्नुको कारण एउटै घरमा तीनदेखि चार परिवारको बसाइ र ती सबैले एउटै शौचालय र एउटै भान्छा प्रयोग गर्ने भएकाले संक्रमित बढेका हुन्। संक्रमित होम आइसोलेसनमा बस्ने बेला शौचालय र भान्छा संक्रमित र परिवारका सदस्यले एउटै प्रयोग गर्ने भएकाले कन्ट्याक्ट टे«सिङ गर्ने बेला सबैको रिपोर्ट पोजिटिभ आउने गरेको देखिएको छ। 

‘भक्तपुर पुरानो बस्ती भएका कारण सबै गुचुमुच्च बस्ने गरेका छन्, यसले गर्दा पनि कोरोना भाइरस संक्रमण फैलिन सहयोग पुगेको छ,’ वडाध्यक्ष ज्याख्वले भने।

वडामा एकान्तबास बस्न नमिल्नाले संक्रमित संख्यामा वृद्धि देखिएकै कारण भक्तपुर नगरपालिकाले आइसोलेसन सञ्चालन गरेको उनले बताए। उक्त आइसोलेसन यही वडामा पर्छ। 

उक्त आइसोलेसन व्यवस्थापन तथा सञ्चालन समितिका संयोजकसमेत रहेका वडाध्यक्ष ज्याख्वका अनुसार अहिले वडामा सञ्चालित आइसोलेसनमा २८ जना संक्रमित छन्। त्यहाँं लक्षण नभएका अथवा सामान्य लक्षण देखिएका संक्रमित राख्ने गरिन्छ। आइसोलेसनमा (खाने, बस्ने, औषधी, इन्टरनेट) सबै सेवा निःशुल्क दिइएको छ। यसले गर्दा भक्तपुर नगरपालिकामा संक्रमित संख्या कम हुने विश्वास छ।

उनकै वडाका एक सुत्केरी कोरोना पोवजटिभ भएकै कारण निजी अस्पतालले भर्ना नलिएकाले विभिन्न अस्पताल भौंतारिनुपरेका अनुभव छ। 

‘सुरक्षा विधि अपनाएर कोरोना पोजिटिभ भए पनि उपचार गरिदिनु विन्रम आग्रह र अनुरोध गर्छु। अहिले ती सुत्केरीले जन्माएको बच्चा पनि कोरोना पोजिटिभ भएका कारण श्रीमान, सुत्केरी र बच्चा तीनैजनाको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।’ 

‘बिरामीहरू कोरोनाले भन्दा उपचार नपाएर ज्यान गुमालान् भन्ने डर छ, यस्तो नहोस् भन्ने हाम्रो प्रयास यहि हो,’ उनले भने।

वडामा भएका संक्रमित परिवारलाई एकथान डिजिटल थर्मामिटर, ५० थान मास्क, दुई बोतल स्यानिटाइजर, क्लोरिन, भिटामिन सी, सिटामोल वितरण गरेको उनले बताए। वडाका १२ परिवारलाई ती सामग्री वितरण गरिएको वडाले जनाएको छ। 

कोरोनाको औषधी वा खोप अहिलेसम्म उत्पादन नभएका कारण भीडभाड नभई, भौतिक दुरी कायम गरी, मास्क लगाउने र स्यानिटाजर तथा साबुनपानीले समयसमयमा हात धुन उनले अनुरोध गरे। 

‘आफूलाई नभएसम्म यो रोग केही पनि होइन भनेर नसोच्नू, त्यसको मतलब यो रोग लागेपछि ज्यान जान्छ भनेर पनि नसोच्नुस्,’ वडाध्यक्ष ज्याख्वले अनुरोध गरे, ‘आफूले गर्दा अरूलाई रोग नसरोस् भन्ने भावनाका साथ अनुशासित भएर आफ्नो काम र स्वास्थ्यलाई ध्यान दिनुहोला।’


Leave a Reply

Your email address will not be published.