झापाको जंगलमा विप्लव-युवा संगठनको सम्मेलन
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठन नेपाल, झापाले चौथो जिल्ला सम्मेलन गरेको छ।
संगठनले चौथो जिल्ला सम्मेलन झापाको शिवसतासी नगरपालिकाको जंगल क्षेत्रमा गरेको पार्टीले जनाएको छ।
सम्मेलनमा प्रमुख अतिथि युवा संगठन नेपाल मेचिकोशी ब्यूरो संयोजक ‘नुलुक’ थिए।
त्यस्तै जिल्ला सचिव श्रीजंग, जिल्ला सदस्य सुमन लगायत पनि सम्मेलनमा सहभागी भएका थिए। प्रमुख अतिथि नुलुकले दलाल, माफिया, भ्रष्टाचारी, लागूपदार्थ कारोबारीलाई अब युवाहरूले कारबाही गर्दै गाउँबाट लखेट्ने चेतावनी दिए।
पार्टीका झापा जिल्ला सचिव श्रीजंगले पूँजीवादी दलाल संसदीय व्यवस्थाले युवाको समस्या हल गर्न नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आग्रह गरे।
सम्मेलनले सम्राटको नेतृत्वमा युवा सङ्गठन झापाको २१ सदस्य जिल्ला कमिटी गठन गरेको छ।
राज्यबाट प्रतिवन्धित यो पार्टीले पछिल्लो समय झापामा विभिन्न गतिविधि गरेर सक्रियता बढाइरहेको छ।
केही दिनअघि कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न झापाका स्थानीय तहलाई चेतावनी दिएको यो पार्टीले युवाको सम्मेलन झापामा गरेर आफ्नो सक्रियता बढाएको सन्देश दिएको छ।