बालकृष्ण खाणको आह्वान- राजधानी सार्ने निर्णयको विरोधमा उत्रिनुहोस् 

बालकृष्ण खाणको आह्वान- राजधानी सार्ने निर्णयको विरोधमा उत्रिनुहोस् 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले ‘षड्यन्त्रपूर्वक ढंगले’ प्रदेश राजधानी सारिएको भन्दै आन्दोलनमा सहभागी हुन रुपन्देहीवासीलाई अनुरोध गरेका छन्। 

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका क्षेत्रमा राख्ने प्रस्ताव गरेपछि अहिले बुटवलमा आन्दोलन सुरु भएको छ। प्रदेश सरकारको यो प्रस्तावको विरुद्धमा अहिले सत्तारुढ नेकपाकै कतिपय सांसदहरु पनि छन्। 

त्यस्तै प्रतिपक्ष नेपाली कांग्रेसका रुपन्देही क्षेत्रका सांसद प्रस्तावको विपक्षमा छन् भने अरु जिल्लाका सांसदहरुले त्यो प्रस्तावलाई समर्थन गरिरहेका छन्। 

बुटवलमै राजधानी कायम गर्नका लागि सुरुवातदेखि नै अगुवाई गर्दै आएका खाणले सोमबार विज्ञप्ति निकालेर आन्दोलनमा उत्रिएकामाथि भएको धरपकडको पनि विरोध गरेका छन्। 

‘प्रदेश ५ सरकारले विशेष समिति र विज्ञहरुको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा षड्यन्त्रपूर्वक ढंगले राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रनपर्ने अवस्था सिर्जना हुनु दु:खद पक्ष हो’ खाणले विज्ञप्तिमा भनेका छन् ‘प्रदेश ५को राजधानी सार्ने कार्यको विरोध कार्यक्रममा शान्तिपूर्णरुपले आन्दोलनमा सहभागी हुन रुपन्देहीवासीलाई हार्दिक आग्रह गर्दछु।’ 

त्यस्तै उनले प्रदेश सरकारले राजनीतिक पूर्वाग्रह राखेर राजधानी सार्न खोजेको आरोप पनि लगाएका छन्। ‘प्रदेश सरकारले राजनीति पूर्वाग्रह राखी राजधानी सार्न खोज्नु यस क्षेत्रका नागरिकको भावना विपरीत रहेकाले निषेधाज्ञा जारी गरेर जवर्जस्ती प्रस्ताव पास गर्नेकार्यलाई स्थगन गरी बुटवललाघ नै यथावत कायम गर्न जोडदार माग गर्दछु’ उनले भनेका छन्। 


Leave a Reply

Your email address will not be published.