हल्ट प्राइजको अनक्याम्पस प्रतिस्पर्धा नेकमा हुने
पोखरा विश्वविद्यालय भरका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउने गरि यस वर्ष हल्ट प्राइजको अनक्याम्पस कार्यक्रम नेपाल इन्जिनियरिङ कलेज (नेक) मा हुने भएको छ।
प्रत्यक वर्ष हल्ट प्राइज फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा विश्वभर हल्ट प्राइज आयोजना हुने गरेको छ।
आगामी डिसेम्बरमा आयोजना हुन लागेको यस कार्यक्रमका लागि तयारी अगाडी बढिसकेको हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेजका क्याम्पस निर्देशक निरज बिकेले जानकारी दिए।
खाध सुरक्षा, शुद्ध खानेपानी, शिक्षा, उर्जाको क्षेत्रमा रहेका विश्वव्यापी साझा सामाजिक समस्याका चुस्त समाधान खोज्दै आएको हल्ट प्राइज फाउण्डेसनले यस वर्षका लागि 'फुड फर गुड : टान्सफरिङ्ग फुड इन्टु भेइकल फर चेन्ज' शिर्षकको चुनौती छनोट गरेको छ।
विद्यार्थीहरूले तीनदेखि चारजनाको समूह बनाइ प्रतिस्पर्धामा भाग लिन पाउने र यस चुनौतीमा उत्कृष्ट सामाजिक व्यवसायिक योजना प्रस्तुत गर्ने विद्यार्थी समूह अघिल्लो चरणको क्षेत्रीय प्रतिस्पर्धाको लागि छनोट हुने छन्। एक वर्षसम्म चल्ने यस कार्यक्रमको ग्लोबल विजेताले दश लाख अमेरिकी डलर पुरस्कार पाउने छन्।
सन् २००९ मा सुरु भएको र पहिलो वर्षमा नै पच्चीस देशका एक हजार विधार्थी सहभागी हल्ट प्राइजको प्रतिस्पर्धामा अहिले विश्वका एक सय बीस देशका दुई हजारभन्दा बढी विश्वविधालयका विद्यार्थीहरू भाग लिने गरेका छन्।
विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइजले विद्यार्थीहरूलाई सामाजिक उद्यमी बन्न उत्प्रेरित गर्ने गरेको छ। कोरना महामारीको विषम परिस्थिति कायमै रहेको खण्डमा हल्ट प्राइजका सबै कार्यक्रम बैकल्पिक माध्यम (अनलाइन) मार्फत सञ्चालन गर्ने योजना रहेको हल्ट प्राइज नेपाल इन्जिनियरिङ्ग कलेजका सञ्चार प्रबन्धक रोबर्टराज उपाध्यायले बताए।