अनुगमन टोली देखेपछि कालीमाटीका माछा व्यापारीको भागाभाग

अनुगमन टोली देखेपछि कालीमाटीका माछा व्यापारीको भागाभाग

सोमबार बिहान कालीमाटी फलफूल तथा तरकारी बजारको छेउमा भएका २६ माछा पसलमध्ये १५ का व्यापारी सटर तानेर यताउता लागे।

काठमाडौं महानगरपालिकाको अनुगमन टोली बजारमा पुगेर माछा पसलको अनुगमन थालेपछि मुल ढोकातर्फका १५ वटा पसलका व्यापारी सटर तानेर भागेका हुन्।

यस क्रममा कसैले ताल्चा नै लगाउन भ्याए भने कसैले त्यतिकै छाडे। व्यापारीले सटर तान्दा अनुगमन टोली सप्तरी माछा पसलमा भेटिएको ९ किलो सडेको माछा जफत गर्दै थियो।

‘आइस हाल्न बिर्सेछु। माछा त्यति त बिग्रेको छैन। अलिअलि मात्र हो,’ माछा पसलका सञ्चालक मोहम्मद मज्लुम मियाँ दाबी गर्दै थिए। 

व्यापारीहरू भागे त? कैफियत के हो? प्रश्नको उत्तरमा महानगरको पशु सेवा विभागका पशुसेवा अधिकृत डम्मरबहादर बमले भने, ‘माछाको गुणस्तरमाभन्दा, खरिदबिक्री बिल जारी नगरेकोमा व्यापारी आत्तिएका हुन्। अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखियो।’

‘खरिद बिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ् गरिएको हो भन्ने कुरा थाहा हुँदैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘खरिदबिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो।’


Leave a Reply

Your email address will not be published.