चिकित्सा विज्ञानको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायतीलाई
यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायतीले संयुक्तरूपमा पाएका छन्।
‘हेपाटाइटिस सी भाइरस’ को पत्ता लगाउने दुई अमेरिकी हार्वे जे अल्टर र चाल्र्स एम राइस तथा बेलायती वैज्ञानिक माइकल ह्युटनलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो।
सोमबार स्वीडेनको स्टकहोममा पुरस्कार घोषणा गर्दै नोबेल समितिले तीनजनाको कार्यले रक्त जनित हेपाटाइटिसको प्रमुख स्रोतबारे व्याख्या गर्न मद्दत पुर्याएको भन्दै पुरस्कृत गरेको हो।
उनीहरूको कामले रगत परीक्षण र नयाँ औषधी बनाउन सम्भव भएको र लाखौंको जीवन बचाएको समितिले जनाएको छ।
‘उनीहरूको खोजले हेपाटाइटिस सीमा निर्देशित एन्टिभाइरल औषधीहरूको तीव्र विकासलाई सहयोग पुगेको छ,’ समितिले भनेको छ, ‘इतिहासमा पहिलोपटक, यो रोग निको पार्न सकिन्छ र विश्वको जनसंख्याबाट हेपेटाइटिस सी भाइरस उन्मुलन गर्ने आसा जागेको छ।’
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ७ करोड हेपाटाइटिसका बिरामी छन् भने ४ लाख मानिसको हरेक वर्ष यही रोगका कारण मृत्यु हुन्छ। यो रोगले कलेजोमा संक्रमण गर्छ र क्यान्सर गराउँछ।
यो पुरस्कार स्वीडेनको अल्फ्रेड नोबेलले १ सय २४ वर्ष अगाडि स्थापना गरेका थिए।
सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि सुरु भएको छ।
नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा भएको हो।
कोरोनाभाइरस महामारीका कारण यसवर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ। तर नयाँ भाइरसका बारेको अनुसन्धानका लागि यसवर्ष प्रत्यक्ष कसैले पुरस्कार पाएनन्।
सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ।
गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरु विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाका बारेमा अनुसन्धान गरेबापत संयुक्तरुपमा पुरस्कार दिइएको थियो।
नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन्।
चिकित्सा बाहेक अन्य पुरस्कारहरु भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ।