विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गरिने
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गरिने भएको छ।
प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणको साझेदारीमा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्ने सहमति भएको हो।
विमानस्थलको धावनमार्गको लम्बाई ३ हजार मिटरसम्म विस्तार गर्ने, जग्गा अधिकरणमा हुने खर्चको ५० प्रतिशत साझेदारी गर्ने (जस अन्तर्गत प्रदेश नम्बर १ ले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र नेपाल नागरिक उड्डयन प्राधिकरणले ५० प्रतिशत लागत) साझेदारी गर्ने तीनवटै निकायबीच सहमति भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको विकास विस्तार स्तरोन्नति सम्बन्धी र गुरूयोजना तयार गरी जग्गा अधिग्रहण, मुआब्जा वितरणका लागि सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गर्ने, थप जग्गाको पहिचान गरी सिफारिस गर्ने समहमति भएकाे हाे।
त्यस्तै, विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि डिजाइन डिपिआर र कार्ययोजना बनाउने, मुआब्जा वितरणमा हुने खर्चको ५० प्रतिशत रकम प्राधिकरणले व्यहोर्ने सहमति भएको सम्झौता पत्रमा उल्लेख छ।