मिडियालाई सूचना चुहाउनु संस्थागत अपराध हो : नेवानि अध्यक्ष घिमिरे

मिडियालाई सूचना चुहाउनु संस्थागत अपराध हो : नेवानि अध्यक्ष घिमिरे

नेपाल वायुसेवा निगम व्यवस्थापनले संस्थासँग सम्बन्धित कुनै पनि सूचना तथा जानकारी सञ्चारमाध्यम (मिडिया) लाई उपलब्ध नगराउन सबै कर्मचारीलाई निर्देशन दिएको छ।

निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले ‘कारबाहीमा रहेका पत्रहरूको फोटोकपी, विवरणजस्ता विषय अनधिकृत व्यक्ति (सञ्चारमाध्यम) लाई उपलब्ध गराउनु चरम अनुशासनहीन आचरण हो भने विद्यमान कानुनअनुसार संस्थागत अपराध हो’ भन्ने निर्देशनपत्र नायब महाप्रबन्धकहरू, विभागीय प्रमुखहरू र सम्पूर्ण कर्मचारीलाई दिएका छन्।

पछिल्लोपटक निगमका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रमपूर्ण रहेका र तिनबाट निगमको शाखमा ह्रास आएको घिमिरेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

‘यसरी अनधिकृत तरिकाले सूचना उपलब्ध गराउन निगमकै कर्मचारीहरूको नै प्रत्यक्ष-अप्रत्यक्ष मिलेमतो रहेको हामीले महसुस गरेकै हो। यस्ता गलत क्रियाकलापबाट निगमको प्रतिष्ठा र विश्वसनियतामा खलल आउने छ। यसबाट ग्राहक तथा जनमानसमा नकारात्मक सन्देश प्रवाह हुने भएकाले यो कार्य अति नै निन्दनीय रहेको छ,’ कार्यकारी अध्यक्ष घिमिरेको निर्देशनपत्रमा छ, ‘संस्थाको इज्जत र प्रगतिमा नै हामी सबैको हितसमेत हुने भएकाले हामी सबैले यस्ता क्रियाकलापविरुद्धमा लाग्ने र सहयोग पुर्‍याउने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनु निगमको हितमा हुनेछ।’

निगमका गतिविधिका सूचना सम्प्रेषण गर्न प्रवक्ताको व्यवस्था भएकाले अन्य कर्मचारीले निगमको स्वीकृतिबिना सूचना सम्प्रेषण गर्नु गलत भएको भन्दै कार्यकारी अध्यक्ष घिमिरेले निगम कर्मचारी विनियमावलीअनुसार दण्डनीय काम भएको पत्रमा उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published.