राष्ट्रिय कविता महोत्सव मंसिरमा, पुरस्कार राशि बढाइयो
नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मंसिरको चौथो साता गर्ने भएको छ। भौतिक दूरी कायम गरी महोत्सव सम्पन्न गरिने प्रज्ञाले जनाएको छ।
कविता महोत्सव प्रज्ञा भवन कमलादीमा आयोजना हुनेछ। प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित हुन पुगेको थियो।
प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिए।
यसअघि नगद पुरस्कारको राशि क्रमशः ३०, २५ र २० हजार थियो।