किन कोही कसैलाई बलात्कार गर्छ?
‘सबै पुरुष बलात्कारी हुन् र त्यो सबै तिनीहरूले गर्छन्। तिनीहरू आफ्ना आँखा, इशारा अनि आफ्नो ‘प्रभूत्वको संस्कार’ ले हामीमाथि बलात्कार गरिरहेका हुन्छन्।’
अमेरिकी लेखक मर्लिन फ्रेन्चको यो आरोपले ‘आमपुरुष’ को यौन मानसिकतालाई झल्काउँछ। तर, यो भनाइले ‘बलात्कार’ को परिभाषालाई फराकिलो तरिकाले बुझ्न सकिन्छ।
‘कसैले मलाई संसारकै एकदमै ठूलो अपराध के हो? भनेर सोध्यो भने म भन्ने छु, त्यो बलात्कार नै हो, किनकि यो त्यस्तो अपराध हो, जहाँ पीडितले सजाय भोग्नुपर्छ।’
भारतीय लेखिका हरिणी मुरलीधरनको यो भनाइले ‘बलात्कृतको पीडा’ झल्काउँछ। र, यो अपराध कति क्रुर हुन्छ भन्ने कुरालाई दर्शाउँछ।
काठमाडौंदेखि कोसौं टाढाको बझाङमा एक दलित बालिकाको बलात्कार गरेर हत्या गरियो। उनको चिता सेलाउन नपाउँदै काठमाडौं उपत्यकाभित्रै एउटी किशोरी बसभित्रै बलात्कृत भइन्।
‘बलात्कार’, यो एउटा त्यस्तो अपराध हो, जसको न कुनै सिमाना हुन्छ, न भूगोल।
बलात्कार ‘मानसिकता’ हो?
‘यो मानसिक रोग होइन, भन्नुको मतलब बलात्कार गर्नेहरू मानसिक रोगी होइनन्,’ मनोचिकित्क डा. रितेश थापा भन्छन्, ‘यो त समाजको विकृति र विसंगतीले जन्माउने एक अपराध हो।’
उनका अनुसार कुनै पनि अपराधलाई रोगसँग जोड्न हुन्न। यसले आपराधिक मानसिकतालाई झनै बढावा दिन्छ।
…
समाजशास्त्री शुक्रराज अधिकारी त भन्छन्, ‘बलात्कारको जिम्मेवार तपाईं–हामी सबै हो। हामीले नै बनाएको समाज हो।’
अधिकारीका अनुसार हामीले ‘हुर्काइरहेको सामाजिक संस्कार’ बलात्कारको मूल जरो हो।
‘जस्तो कि फिल्ममा महिलालाई कमजोर देखाइन्छ, बलात्कारका दृश्यलाई निकै महत्व दिइन्छ,’ अधिकारी भन्छन्, ‘यसैबाट प्रष्ट हुन्छ, हामी कस्तो सामाजिक संस्कार विकास गर्दैछौं?’
पक्कै पनि त्यसको प्रभाव समाजमै पर्छ। चलचित्र समाज परिवर्तनका लागि एउटा बलियो माध्यम भए पनि त्यसले कतिपय कुरामा नकारात्मक प्रभाव पारिरहेको उनी बताउँछन्।
उनका अनुसार मानिस आधुनिक र समृद्ध बन्ने नाउँमा प्रविधिले पनि कुसंस्कार भित्र्याइरहेको छ।
‘इन्टरनेटमा खोजीखोजी यौन सामग्री हेर्ने, समाचारका हेडलाइनहरू नै हेर्नुस् त कस्ता हुन्छन्?,’ उनी भन्छन्, ‘यसले विकृत यौन भावना जगाइदिन्छ। अनि बलात्कारजस्ता जघन्य अपराध हुन्छ।’
डा. थापाको विश्लेषणमा यस्तो अपराध हुनुका पछाडि हाम्रै सामाजिक कारणहरू पनि हुनसक्छन्। कुनै व्यक्तिको स्वभाव, उसको संस्कार, अनि उसको सामाजिक संरचना पनि त्यसमा जिम्मेवार हुन्छ।
‘धेरैजसोले रिसमा गर्छन्, कसैमा बदलाको भावनामा। कोही लागूपदार्थको कुलतमा फँसेर,’ डा. थापा भन्छन्, ‘इन्टरनेटमा पोर्न भिडियो हेरेर आफ्नो यौन कुण्ठा थेग्न नसक्दा पनि यस्तो घटना हुन्छन्, यो सब हामी कस्तो समाजमा छौं भन्ने कुराले काम गर्छ।’
डा. थापा मुख्यतः यस्ता घटना हुनुमा सामाजिक संरचना र संस्कार नै दोषी देख्छन्।
‘एउटा व्यक्ति कस्तो सामाजिक र पारिवारिक वातावरणमा हुर्केको छ भन्नेमा पनि भर पर्छ,’ उनले भने, ‘कतिपय अवस्थामा साथीभाइको लहलहैमा र लागूऔषध र रक्सीको मातमा आफूलाई सम्हाल्न नसक्दा यस्ता अपराध हुने गरेका छन्।’
…
समाजशास्त्री अधिकार कानुन र सजायमा पनि अपराध निर्भर हुने बताउँछन्।
‘हामी कस्तो कानुनी शासनमा छौँ, हाम्रा कानुन कति बलिया र कडा छन् भन्ने कुराले पनि अपराधलाई समेट्छ,’ उनी भन्छन्, ‘समाज अहिले उदण्ड भइरहेको छ। हरेक कुरामा विरोधको लागि विरोध गर्ने। नाराजुलुस गरे जे पनि हुन्छ भन्ने मानसिकताको विकास भएको छ।’
उनका अनुसार यसले अपराधलाई पनि लुकाउन सक्छ। अर्थात् नारा, जुलुस गर्दा वा आन्दोलन गर्दा कानुन फिक्का हुन्छ।
‘यसले त मान्छेमा जे गर्दा पनि हुन्छ। कसले छेक्छ र? भन्ने सोचको विकास गर्छ,’ उनी भन्छन्, ‘आन्दोलनको नाममा कतिपय कानुन फिक्का हुन जान्छन्। यसले आपराधिक मानसिकता बढाउँछ।’
बलात्कारकै कतिपय घटनामा धेरै कममात्रै सजाय भएका छन्। अनि यसले अपराधीको मनोबल झन् बढाउँछ।
डा. थापाका अनुसार यस्ता घटना रोक्नका लागि बलियो कानुन चाहिन्छ र त्यसको कार्यान्वयन पनि।
‘कति घटना त मिलापत्रमै सकिएका छन्। यसले गर्दा अपराधीलाई के कानुन लाग्छ र? भन्ने पर्छ,’ उनी भन्छन्, ‘त्यसैले कानुन बलियो हुनुपर्छ। त्यसको कार्यान्वयन पनि राम्रोसँग हुनुपर्छ।’
सबैभन्दा महत्वपूर्ण कुरा त, हामीले यस्ता कुरा घरपरिवारबाटै सिकाउँदै लैजानुपर्छ।
‘यौन शिक्षाका बारेमा बालबालिकालाई सानैदेखि बुझाउन जरुरी छ, यसले यौन कुण्ठा रहन दिँदैन। यौनका बारेमा जति खुल्न सक्यो त्यति कुण्ठा हराउने हो,’ डा. थापा भन्छन्, ‘के स्वाभाविक हो र के दुव्र्यवहार हो भन्ने कुरा हामीले हाम्रा बालबालिकालाई घरैदेखि सिकाउन जरुरी छ।’