सांसद विकास कोषको दुरुपयोग : हिलाम्मे गाउँ छोडेर प्लटिङ हुन थालेकाे धान खेतमा पक्की सडक

सांसद विकास कोषको दुरुपयोग : हिलाम्मे गाउँ छोडेर प्लटिङ हुन थालेकाे धान खेतमा पक्की सडक

अघिल्लो आर्थिक वर्षमा प्रदेश २ का सांसदहरुले वितरण गरेका विकास निर्माणका योजनाहरुको बक्यौता रकम अझै फछ््र्याैट हुनसकेको छैन। 

आर्थिक वर्षभित्रै भुक्तानी हुननसकेपछि करिब ८७ करोड रुपैयाँ फछ््र्याैट हुन बाँकी छ। सांसदहरूले उपभोक्ता समितिमार्फत विकास निर्माणका कार्य गर्न लगाएका थिए।

बक्यौता रकम फछ््र्याैट हुन नसकेपछि उपभोक्ता प्रदेश सरकारविरुद्ध खनिए। 

र, पछिल्लो पटक प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमै बक्यौता रकम समावेश गरेर उपभोक्ताहरूलाई बाँडिने भनिरहेको छ।

प्रदेश २ मा प्रत्यक्ष निर्वाचित प्रदेश सांसदलाई तीन करोड र समानुपातिक सांसदलाई एक करोड रुपैयाँ वार्षिक संसदीय क्षेत्र विकासका लागि दिने व्यवस्था छ। 

पछिल्लो पटक मुलुक कोरोनाविरुद्ध लडाइ गरिरहँदा प्रदेश २ का प्रदेश सांसदहरुले भने सांसद विकास कोषको रकम बढाउन सरकारमाथि दबाब दिइरहेका थिए। 

यस वर्ष भने सरकारले यो कोषको नाम फेरेर ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ बनाएको छ। 

जनतालाई विकासको अनुभूति हुनेगरी सांसदहरुलाई रकम उपलब्ध गराइएपनि संसदीय विकास कोषको अधिकांश स्थानमा दुरुपयोग भइरहेको पाइएको छ। 

आफू नजिकका कार्यकर्तालाई योजना दिएर कमिसनको खेल हुनथालेपछि विकास निर्माणको लागि भनिए पनि त्यसको बाँडफाँड भने जथाभावी भइरहेको छ। 

संसदीय विकास कोषको रकम दुरुपयोग भएको एउटा नमूना प्रदेश २ को राजधानी जनकपुरमा देखिएको छ। 

जनकपुर क्षेत्रबाट निर्वाचित एकजना प्रदेशसभा सदस्य परमेश्वर साहले वस्ती नै नभएको ठाउँमा ८० लाख खर्चेर सडक बनाउन लगाएका छन्। तर, उनको चुनावी क्षेत्रमा वडाका सडक भने वर्षामा हिलाम्य र हिउँदमा धुलाम्मे हुन्छन्। 

प्रदेशसभा सदस्यले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा वस्ती नै नभएको खेतमा ८० लाख खर्चेर सडक बनाएका हुन्। 

वडा नम्बर २३ उपमहानगरपालिकामा गाभिएको एउटा ग्रामीण वडा हो। 

सामान्य वर्षामा त्यहाँका सडकहरू हिलाम्ये हुने गरेको छ।

तर, हिलाम्ये हुने ठाउँमा सडक नबनाएर प्रदेश सांसद साहले ‘भुमाफियालाई फाइदा हुनेगरी’ वस्ती नै नभएको ठाउँमा पिसिसी सडक बनाउन लगाएको स्थानीयको आरोप छ। 

स्थानीयका अनुसार करिब २५ बिघाको खाली प्लटको अधिकांश जग्गा व्यवसायीकै क्षेत्र हो। त्यो प्लट किनबिचेका लागि जग्गा व्यवसायीले बनाएका हुन्। त्यो अधिकांश किसानले जोतभोग गर्दै आएको खेत हो। 
 
जग्गाको मूल्यांकन बढाउन प्रदेश सांसद साहले १४ फिट र १२ फिटका पिसिसी सडकहरू बनाउन लगाएका छन्। 

संसदीय विकास कोषको रकमबाट सडक निर्माण भइसकेपनि यसबारे वडाध्यक्ष भने बेखबर छन्। 

वडा नम्बर २३ का वडाध्यक्ष शत्रुध्न पाण्डेयले मानव वस्ती नै नरहेको ठाउँमा कसरी सडक बन्यो त्यसबारे आफूलाई कुनै जानकारी नरहेको बताउँछन्।

प्रदेश सांसद साहले तीन करोडको संसदीय विकास कोषको रकमबाट ८० लाख रुपैयाँ खेतमा सडक निर्माण गर्न खर्चेका हुन्। 
भू–माफियालाई फाइदा पु¥याउने उद्देश्यले खेतमा सडक बनाउन लगाएको आरोप गलत रहेको साहको दाबी छ।

‘त्यस क्षेत्रमा मेरो जग्गा पनि छैन्, न त कुनै भू–माफियासँग मेरो परिचय छ,’ साह भन्छन्, ‘स्थानीयको दबाब आयो, संसदीय विकास कोष रकमबाट सडक बनाउन लगाएँ। स्थानीयको दबाबपछि सडक बनाउनु ठीक होइन भने मैले गल्ती गरेको छु।’

संसदीय विकास कोष रकम दुरुपयोगको अर्को नमूना जनकपुरको जनक चोकमा पनि देख्न सकिन्छ। 

प्रतिनिधिसभा सांसद राजेन्द्र महतोले आफ्नो संसदीय विकास कोषको रकमबाट जनक चोकमा १५ लाख रुपैयाँको पानी ट्यांकी र जनक मन्दिर परिसरभित्र सिमेन्टको पाँचवटा बेन्च बनाउन लगाएका छन्। 

सर्वसाधारणलाई चिसो पानी खान सुविधा पु¥याउने उद्देश्यले त्यहाँ कुलिङ्ग मेसिनसहितको ट्यांकी निर्माण गरिएको हो।
पछिल्लो आर्थिक वर्षकै योजनामा कुलिङ्ग मेसिनसहित निर्माण गरिएको पानी ट्यांकीबाट अझै पानी आएको छैन। 

तर, उपभोक्ता समितिले भुक्तानी पाइसकेका छन्। पानी तान्न मोटर र चापाकल गाडिए पनि बिजुली कहाँबाट ल्याउने, टुंगो नलागेपछि ट्यांकी सुरु हुन नसकेको स्थानीय बताउँछन्। 

यसका साथै पानीको निकास नहुँदा १५ लाख खर्चेर बनाइएको ट्यांकी थन्किएर रहेको स्थानीयवासीको भनाइ छ।


Leave a Reply

Your email address will not be published.