नेकपा रुपन्देहीका २२४९ कार्यकर्ताद्वारा संयुक्त राजीनामाको घोषणा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका २ हजार २ सय ४९ जनाले संयुक्त रुपमा पार्टीबाट राजीनामाको घोषणा गरेका छन्।
मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले प्रदेश राजधानीको बिषयमा स्पष्ट अडान नलिएको भन्दै राजीनामा दिएको बताएका हुन्।
चुनावको बेला गरेको प्रतिवद्धताबाट पछिहटेको र जनताको साथ हुँदा पनि खुट्टा कमाएको उनीहरूको आरोप छ।
कार्यक्रममा बोल्दे रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम बोहोराले चुनावमा दिएको बाचा पुरा नगरेको हुँदा पार्टीमा बसिरहनु उपयुक्त नभएको बताए। नेकपाका नेताहरूलाई पटक-पटक खुट्टा दह्रो बनाएर उभिनका लागि अनुरोध गर्दासमेत नेताहरूले साथ नदिएको उनको आरोप छ।
कार्यक्रमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, होटल तथा रेष्टुरेन्ण्ट व्यवशायी संघका अध्यक्ष समुन्द्र जिसीलगायतले बोलेका थिए।
उनीहरूले रुपन्देहीमा रहेको ३५ वटा सामाजिक संघसंस्थाका २२ सय ४९ जनाले पार्टीको सदस्य समेत नरहने गरी राजीनामा दिएको बताए।
रुपन्देहीका सामाजिक संघ संस्थाको सञ्जालले विगत तीनदेखि राजधानी रुपन्देहीमा हुनुपर्ने माग राख्ने आन्दालन गरिरहेको छ। मंगलबार पनि उनीहरूले प्रदेशसभा भवन अगाडी धर्नाका कार्यक्रम गरिरहेका छन्।