प्रदेश ५ को राजधानी-नाम र केन्द्र सच्याउन तीन संशोधन प्रस्ताव

प्रदेश ५ को राजधानी-नाम र केन्द्र सच्याउन तीन संशोधन प्रस्ताव

प्रदेश सभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा दुईवटा संशोधन प्रस्ताव दर्ता भएका छन्।

प्रदेशसभा सचिवालयका अनुसार नाम लुम्बिनी राख्ने र राजधानीको केन्द्र परिवर्तन गर्ने सम्बन्धमा एक–एक वटा संशोधन प्रस्ताव पेश भएका हुन्।

नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गरेकी छिन्। 

कांग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रस्ताव दर्ता गराएकी छिन्।

उनले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीच भागमा राजधानी तोक्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएकी हुन्।

त्यसअघि सोमबार नामाकरण सम्बन्धमा जनता समाजवादी पार्टीको तर्फवाट संसदीय दलका नेता सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ।

आजको बैठकले प्रदेश सरकारले शुक्रवार प्रस्तुत गरेको प्रस्ताव उपर मतदान गर्ने कार्यतालिका छ।

प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका र नाम लुम्विनी राख्न प्रदेश सभामा प्रस्ताव गरेको छ।

उक्त प्रस्तावमाथि आज बोलाइएको प्रदेशसभा बैठकमा मतदान गर्ने तालिका रहेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने तालिका समेत छ।


Leave a Reply

Your email address will not be published.