दाङको भालुवाङले पूरै प्रदेश ५ को प्रतिनिधित्व गर्छ- मुख्यमन्त्री पाेख्रेल

दाङको भालुवाङले पूरै प्रदेश ५ को प्रतिनिधित्व गर्छ- मुख्यमन्त्री पाेख्रेल
फाइल तस्बिर।

प्रदेश ५ मा स्थायी राजधानी तोक्ने विषयमा विवाद चलिरहँदा मुख्यमन्त्री शंकर पाेख्रेलले सरकारले प्रस्ताव गरेको दाङको भालुवाङ सबैको साझा प्रतिनिधित्व गर्ने ठाउँ रहेको दाबी गरेका छन्। 

राजधानी र नामकरणको प्रस्तावमाथि मतदान हुनुअघि विशेष समय लिएर मंगलबार प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पाेख्रेलले राजधानीको विषयमा विवाद गर्नुको कुनै अर्थ नरहेको बताए। 

‘राजधानी कहाँ बनाउने ठूलो विषय होइन, कस्तो राजधानी बनाउने महत्वपूर्ण कुरा हुन्छ,’ मुख्यमन्त्री पाेख्रेलले भने, ‘भालुवाङको राप्ती नदीले दुईवटा आञ्चलिक मनोविज्ञानलाई जोड्ने भएर राजधानी प्रस्ताव गरेका हौं।’ 

दाङको भालुवाङलाई राजधानी तोक्ने विषय कुनैपनि राजनीतिक आग्रह पूर्वाग्रह नरहेको उनको दाबी थियो। 

मुख्यमन्त्री पोखरेलले संसदको विशेष समितिले प्रस्तुत गरेको प्रतिवेदनको आधारमा दाङलाई स्थायी राजधानी प्रस्ताव गरिएको जिकिर गरेका छन्। 

‘सरकार आफैले दाङलाई राजधानी प्रस्ताव गरेको होइन्,’ उनले भने, ‘जिल्ला जिल्ला पुगेर जनताको भावना बुझेर विशेष संसदीय समितिले तयार पारेको प्रतिवेदनको आधारमा राजधानी प्रस्ताव गरिएको हो।’ 

संसदीय समितिले दाङ त्यसपछि रुपन्देही र अन्त्यमा कपिलवस्तु प्रस्ताव गरेको आधारमा राजधानी प्रस्ताव गरिएको उनले बताए। समितिले दिएको प्रतिवेदनभन्दा थोरै पनि फरक प्रस्ताव सरकारले नल्याएको उनको दाबी छ।


Leave a Reply

Your email address will not be published.