अब लुम्बिनी प्रदेश, राजधानी दाङ

अब लुम्बिनी प्रदेश, राजधानी दाङ

प्रदेश ५को राजधानी ‘दाङको भालुवाङ’ र प्रदेशको नाम ‘लुम्बिनी’ प्रदेशसभाबाट पारित भएको छ। 

मंगलबार प्रदेशसभामा भएको मतदानमा यो प्रस्ताव दुई तिहाइ सांसदले मतदान गरेर पारित गरेका हुन्। 

प्रदेश नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ जना सांसदले मतदान गरे। त्यस्तै ४ जनाले त्यसको विपक्षमा मतदान गरेका थिए। 

त्यस्तै राजधानी ‘दाङको भालुवाङ’ भन्ने प्रस्तावमा ६९ जनाले मत दिए र १३ जनाले प्रस्तावको विपक्षमा मत दिए। 

त्यस्तै २ जना सांसद मतदानमा सहभागी भएनन् भने २ जना सांसदले बहिष्कार गरे। 

नेपाली कांग्रेसले दाङ राजधानी बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो भने नेकपाले दुबैको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। 

तर, नेपाली कांग्रेसका ५ जना सांसदले ‘फ्लोर क्रस’ गरेर दाङ राजधानी बनाउने प्रस्तावमा मतदान गरेका छन्। 

प्रदेशसभामा सभामुखसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६१ सांसद छन्। सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन्। यसैगरी जसपाका ६ र जनमोर्चाका एकजना प्रदेशसभा सदस्य छन्।

मतदानपछि अन्तिम नतिजा घोषणा गर्दै सभामुखले संसदकाे छैठौ सकिएको बारे प्रदेश प्रमुखको पत्र पढेर सुनाएका थिए। 
 


Leave a Reply

Your email address will not be published.