डा. केसीलाई अनशन स्थगित गर्न नेकपाको आग्रह

डा. केसीलाई अनशन स्थगित गर्न नेकपाको आग्रह

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको छ। 

आज बसेको नेकपा सचिवालय बैठकले २३ दिनदेखि विभिन्न माग राखेर अनशनमा बसेका डा. केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको हो। 

कोरोना महामारीको अवस्थामा तत्कालका लागि अनशन अन्त्य गर्न अनुरोध गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले डा. केसीलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) त्रासको अवस्थामा तत्कालका लागि अनशन अन्त्य गर्न अनुरोध गरेको हो। 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले केसीलाई अनशन अन्त्य गर्न सरकारले गरेको अनुरोधसहितको विवरण पेश गरेका थिए। 

त्यसपछि बैठकले कोरोना संकटको समयमा केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

‘बैठकमा सरकारले डा. केसीलाई अनशनको अन्त्य गर्नका निम्ति गरेको अनुरोधसहितको विवरण प्रधानमन्त्रीले जानकारी गराउनुभयो’, प्रवक्ता श्रेष्ठले भने, ‘केसीले चिकित्सा शिक्षा सुधारका क्षेत्रमा जुनजुन मुद्दा उठाउनु भएको थियो त्यसलाई पूरा गर्नेगरी अगाडि नै सम्झौता भएका छन्। कतिपय विषय कार्यान्वयनको प्रक्रियामा अगाडि बढेका छन्।’ 

उनले सरकार कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको र पहिलाका सम्झौता कार्यान्वयनको पृष्ठभूमिमा रहकाले सरकारले जस्तै सचिवालय बैठकले पनि केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको जानकारी दिए।

प्रधानमन्त्रीले मंगलबार दिउँसो शिक्षा सचिबसहितको टोलिलाई डा. केसीसँगको भेटघाटका लागि पठाएका थिए। 
 

मन्त्रिपरिषद हेरफेरको विषयमा छलफलै भएन 

सरकारका मन्त्री हेरफेर हुनेबारे लामो समयदेखि चर्चा भइरहेपनि नेकपा सचिवालय कमिटीको बैठकमा यस विषयमा छलफल भएको छैन्। मंगलबार बसेको सचिवालय कमिटीको बैठकमा यसबारे कुनै छलफल नभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। 

बैठकबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल हेरफेरसम्बन्धमा मंगलबारको बैठकमा कुनै छलफल नभएको बताएका छन्। 

साथै यस विषयमा प्रधानमन्त्रीले बैठकमा कुनै प्रस्तावसमेत नल्याएको श्रेष्ठले जनाएका छन् । ‘स्थायी कमिटीको बैठकले लिएको निष्कर्षअनुसार मन्त्रिपरिषद् पूर्नगठनको विषय उठेको छ,’ श्रेष्ठले भने,‘तर यस विषयमा आज कुनै छलफल भएको छैन् । र, प्रधानमन्त्रीले कुनै जानकारी पनि गराउनु भएन्।’ 

मन्त्रिमण्डल हेरफेरसम्बन्धमा दुबै अध्यक्षले गृहकार्य गरिरहेको हुनसक्ने बताउँदै उनले तत्काल यसबारे निर्णय गर्ने अवस्था नरहेको जानकारी दिए। 

सरकारले एकलौटी रुपमा राजदूत नियुक्ति गरेको पार्टीभित्र आरोप लागि रहेको बेला श्रेष्ठले राजदूत र संवैधानिक नियुक्तिबारे प्रारम्भिक छलफल भएको र अर्को बैठकमा विस्तृत रुपमा छलफल हुने उल्लेख गरेका छन्। 

बैठकमा सांगठनिक एकीकरणका बाँकी कार्य, सांगठनिक विभागको कार्ययोजना, यसअघिका बैठकमा निर्धारित विभिन्न एजेन्डाबारे सामान्य छलफल भएको श्रेष्ठले बताएका छन्। 

अध्यक्षद्वयले छलफल गरेर निष्कर्षमा पुग्ने गरी चाँडै अर्को बैठक बोलाउने उनले जानकारी दिएका छन्। 


Leave a Reply

Your email address will not be published.