प्रदेश राजधानीको स्वागतमा घोराहीमा दीप प्रज्ज्वलन
प्रदेश नम्बर ५ को नाम लुम्विनी र देउखुरी स्थायी राजधानीको खुशीयालीमा दाङका विभिन्न ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ। प्रदेश नम्बर ५ को नाम लुम्बिनी र प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङ बनाउने प्रस्ताव पारित भएपछि जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका बजारमा दीप प्रज्ज्वलन गरिएको हो।
प्रादेशिक राजधानीको स्वागतका लागि नेकपा दाङ र प्रादेशिक राजधानी सरोकार समितिले घोराहीको सहिदगेटमा दीप प्रज्ज्वलन गरेका हुन्। दीप प्रज्ज्वलन कार्यक्रमलाई स्वागत गर्दै नेकपाकी प्रदेश नम्बर ५ की अध्यक्ष ओनसरी घर्तिले संघीयताको मर्म र भावना अनुसार प्रदेश नम्बर ५ ले न्याय पाएकी बताएकी छिन्।
प्रदेश स्थापना भएको लामो समयपछि प्रदेशले उपयुक्त ठाउँमा राजधानी र नाम पाएको उनले बताइन्। ‘संघीयताको मर्म र भावना अनुसार प्रदेशले न्याय पाएको छ,’ पूर्व सभामुखसमेत रहेकी घर्तिले भनिन्, ‘यसमा कसैले दुःख मान्ने र दाङ मात्र खुशी मनाउने कुरा छैन।’ उनले प्रदेशको केन्द्र दाङको भालुवाङ भए पनि प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लालाई समेटेर अघि बढ्ने बताएकी थिइन्।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले प्रदेशको राजधानी र शान्तिका दूत भगवान गौतम बुद्धको सम्मान स्वरुप लुम्विनी प्रदेश राख्ने निर्णय स्वागत योग्य भएको बताएका थिए। कार्यक्रमलाई नेकपा, नेपाली कांग्रेललगायतका पार्टीका नेताहरूले सम्वोधन गरेका थिए।
जिससद्वारा प्रादेशिक राजधानीको स्वागत
यसैविच जिल्ला समन्वय समिति दाङले प्रदेश नम्बर ५ को नाम लुम्विनी र राजधानी दाङ देउखुरीको राप्ती उपत्यकामा राख्ने निर्णयको स्वागत गरेको छ।
मंगलबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइले प्रदेशसभाको नाम लुम्विनी र प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा बनाउने निर्णय पारित गरेको हो।
समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेलले विज्ञप्ति निकालेर सवैलाई पायक पर्ने ठाउँमा राजधानी छनोट गरेको हुँदा सो राजधानी छनोट र उक्त प्रक्रियामा भूमिका खेल्ने प्रदेशसभा, मुख्यमन्त्री, सभामुख र प्रदेशसभा सदस्यहरूप्रति धन्यावाद ज्ञापन गरेको उल्लेख गरेको छ।