हल्दिबारी गाउँपालिकाको काम तत्काल सुरु गर्न कांग्रेसको अल्टिमेटम

हल्दिबारी गाउँपालिकाको काम तत्काल सुरु गर्न कांग्रेसको अल्टिमेटम

साउनदेखि प्रभावित भएको गाउँपालिकाको  कामकाज र  सेवा तत्काल सुचारु गर्ने नेपाली कांग्रेस हल्दिबारीले माग गरेको छ। तत्काल  काम सुचारु नभए  संघर्षमा उत्रने चेतावनी सहित गापमा कांग्रेस मंगलबार १४ बुँदे ज्ञापनपत्र बुझाएको छ।

कांग्रेसले ज्ञापनपत्र बुझाउदा  अध्यक्ष रविन्द्र लिङ्देन र उपाध्यक्ष  डम्बर गिरी कार्यालयमा अनुपस्थित थिए। अध्यक्षको कार्यकक्ष खुल्ला भए पनि नेमप्लेटमा  बाहिर लेखिएको थियो।

उपाध्यक्ष गिरीको कार्यकक्षको ढोका दिनभर नै खुलेन। उनको कार्यकक्षको अगाडि गाई बाँधिनुका साथै मोटरसाइकल पार्किङ गरिएको थियो। 
उपाध्यक्ष गिरी कहाँ गएका हुन् कर्मचारीले समेत थाहा नभएको बताए। अध्यक्ष लिङ्देन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेट्न बिराटनगर गएको बताइएको छ।

अध्यक्ष र उपाध्यक्ष दुबै नभएपछि ज्ञापनपत्र बुझ्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण दाहालले गाउँपालिकाको सेवा निर्बाध सञ्चालनका लागि पहल गर्ने आश्वासन दिए।

गाउँपालिका सञ्चालन गर्ने जनप्रतिनिधिको क्षेत्राधिकार भएको बताएका उनले कर्मचारीको काम जनप्रतिनिधिले निर्माण गरेका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने भएको जनाए। कांग्रेसले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तत्काल प्रमाणीकरण गर्न, अनावश्यक कर्मचारी नियुक्ति बदर गर्न, अपारदर्शी सञ्चार खर्चको विषय  स्पष्ट  पार्न माग गरेको छ।

सो गाउँपालिकाले २६ लाख खर्च गरेको छ। जसको शीर्षक खुलेको छैन। ज्ञापनपत्रमा सवारी साधन खरिद, ठेक्का/सम्झौता, लक्षित वर्ग कार्यक्रम, शिक्षा नियमावलीको बारेमा स्पष्ट पार्न भनिएको छ। हल्दिबारीले छुट्टै शिक्षा नियमावली बनाएर लागू गरेपछि कांग्रेस असन्तुष्ट बनेको हो।           

बाटो मर्मत, कोभिड नियन्त्रण खर्च, राहत तथा उपचार कोष, संघसंस्थाको जग्गा अपचलन र सूचना माग्दा नागरिकलाई गालीगलौज गर्नुको कारण स्पष्ट पार्न कांग्रेसले माग गरेको छ।

कांग्रेस हल्दिबारी सभापति दिलीपकुमार मावो र कांग्रेस विषेश कार्यदल हल्दिबारीका संयोजक तुलसीप्रसाद ओलीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा १५ दिनभित्र सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी दिइएको छ। 

सयौंको संख्यामा पार्टीको पहिचान सहित गाउँपालिका पुगेका कांग्रेस कार्यकर्ताले गाप परिसरमा कोणसभा समेत सम्पन्न गरे। ज्ञापनपत्र बुझाउन पाँच जनालाई मात्रै अनुमति दिएको  प्रहरीले अरुलाई रोकेको थियो। नेकपाबाट निर्वाचित उपाध्यक्ष गिरी बहुमतमा छन्।  राप्रपाबाट निर्वाचित अध्यक्ष लिङ्देन  अल्पमतमा छन्। सातवटा वडा रहेको हल्दिबारीको  एउटा वडामा मात्रै कांग्रेसको  वडाध्यक्ष छन्। 

गाउँसभा चलिरहदा तोडफोड र अध्यक्ष तथा  उपाध्यक्ष पक्षधर बीच कुटाकुट भएपछि बजेट, निती तथा कार्यक्रम प्रमाणी हुन सकेको छैन। अध्यक्ष र उपाध्यक्षको टकरावका कारण  साउनदेखि नै सो गाउँपालिकाको सामान्य सिफारिस बाहेकका सबै काम रोकिएको छ।

कर्मचारीलाई तलब खुवाउन र सामाजिक सुरक्षा भत्ता समेत वितरण नभएपछि कांग्रेस गाउँ सरकारको विरोधमा उत्रेको हो।

कर्मचारीले रोके काम 

साउनदेखि तलब नपाएपछि गाउँपालिकाका सबै कर्मचारीले मंगलबारदेखि सबै काम रोकेका छन्। उनीहरूले पेनडाउन गरेको बताए। तलब नपाएसम्म काम नगर्ने कर्मचारीले बताएका छन्। 

प्रमुख प्रशासकीय अधिकृत दाहालले अरु कामकाज सुचारु गर्ने जिम्मेवारी जनप्रतिनिधिले बहन नगरे पनि बिहीबारसम्ममा कर्मचारीको तलब उपलब्ध हुने बताए। उनले भने, 'कर्मचारीको तलब कुनै पनि अवस्थामा रोकिन्न, लेखा शाखले कानुन र तोकिएको अधिकार क्षेत्र भित्र रहेर  तलब भुक्तानी गर्छ।' तलब नपाउदा कर्मचारी मानसिक तनाबमक छन्।


Leave a Reply

Your email address will not be published.