काठमाडौं महानगर–३१ : दुईको मृत्यु, ३५० संक्रमित

काठमाडौं महानगर–३१ : दुईको मृत्यु, ३५० संक्रमित

दिनहुँ संक्रमित संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारीले कोरोना भाइरस संक्रमण समुदायस्तरमा पुगेको ठहर गरेका छन्।

उनको वडामा अहिलेसम्म भाइरस संक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने ३ सय ५० जना संक्रमित छन्।

‘पिसिआर गर्दा हरेक दिन संक्रमित फेला पर्छन्, कोरोनाले विकराल रूप लिइसक्यो,’ वडाध्यक्ष भण्डारीले आयोमेलसँग भने, ‘भाइरस समुदाय स्तरमा पुगिसकेको छ। यसबाट बच्ने एउटामात्रै उपाय स्वास्थ्य मापदण्ड पालना हो।’

वडाका कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण पुष्टि भई निको भइसके पनि अन्य कर्मचारीमा समेत संक्रमणका लक्षण देखिँदा काम गर्न समस्या भएको उनको भनाइ छ।

वडाध्यक्ष भण्डारी भाइरसबाट बच्नका लागि भौतिक दुरी कायम गर्नुपर्ने र स्वास्थ्य सामग्रीको प्रयोग गर्नुपर्ने बताउँछन्।

उनको वडाका कूल संक्रमितमध्ये १ सय ५० जना होम आइसोलेसन, १७ जना अस्पताल, तीनजना संस्थागत आइसोलेसन र १ सय ७७ जना निको भइसकेका वडाकी स्वास्थ्य संयोजक सिर्जना जिसी खरेलले जानकारी दिएकी छन्।

उनले भाइरस संक्रमण स्थानीयभन्दा बढी भाडावालमा रहेको बताइन्।

‘स्थानीयमा भन्दा भाडावालमा बढी संक्रमण देखिएको र भाइरस संक्रमण तीव्र रूपमा फैलिँदा काम गर्न निकै जोखिम भएको उनको भनाइ छ।

वडाले अहिलेसम्म ९ सय ६४ जनाको कन्ट्याक्ट टे«सिङ र ७ सय ७५ जनाको पिसिआर परीक्षण गरेको जानकारी स्वास्थ्य संयोजक खरेलले दिइन्।

भाइरस संक्रमण बढ्दै जाँदा काम गर्न समस्या भएको भन्दै वडाध्यक्ष भण्डारीले सबै नागरिकलाई संयमित, उत्तरदायी र अनुशासित भएर भाइरस सामना गर्नुपर्ने जानकारी दिए।

३१ वडाभित्र भीमसेनगोला, पुरानो बानेश्वर चेक, बागमतीदेखि पश्चिम, देवकोटा मार्गदेखि पूर्व, बाबुराम मार्गदेखि दक्षिण शंखमुलसम्मका क्षेत्र पर्छन्।


Leave a Reply

Your email address will not be published.