सरकारको निस्कर्ष : दसैंमा कोरोना पनि ओहोरदोहोर हुने सम्भावना
काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिममा रहेकाले सेवा प्रवाह गर्दा र लिँदा उच्च सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ।
असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो आह्वान गरेका हुन्।
मुलुकका अन्य जिल्लामा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख भए पनि काठमाडौं उपत्यका जोखिममा रहेको उनको भनाइ छ।
मन्त्री ज्ञवालीले प्रदर्शन गर्दा वा अन्य गतिविधि गर्दा पनि उनले उच्च सतर्कता अपनाउन आग्रह गरे।
दसैंतिहार नजिकिँदै गएका बेला मन्त्री ज्ञवालीले विशेष सतर्कता अपनाउनुपर्ने बताए। चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उनको भनाइ छ।