भेरी अस्पतालमा ‘माइक्रोस्कोपिक न्युरोसर्जरी’ सेवा सुरु

भेरी अस्पतालमा ‘माइक्रोस्कोपिक न्युरोसर्जरी’ सेवा सुरु

ठूलो भेरी अस्पताल नेपालगन्जले माइक्रोस्कोप प्रविधिबाट न्युरोसर्जरी सेवा सुरु गरेको छ। अस्पतालमा अत्याधुनिक प्रविधियुक्त अप्रेटिङ माइक्रोस्कोप मेसिन जडान भएसँगै ‘माइक्रोस्कोपिक न्युरोसर्जरी’ सेवा सुरु भएको अस्पतालले जनाएको छ।

विशेष गरी दिमाग तथा टाउकाको सम्बन्धि समस्याको उपचारका लागि यो प्रविधि बढी प्रभावकारी हुन्छ। टाउको तथा मेरुदण्ड अत्यन्त संवेदनशील अंग भएको हुँदा ससाना नशा तथा तन्तुहरूलाई अत्यन्त जतनका साथ चलाउनु पर्ने हुन्छ। 

नाङ्गो आँखाले सहजै देख्न नसकिने यस्ता नशाहरूलाई अप्रेटिङ माइक्रोस्कोपको सहायताले हेरेर सर्जनहरूले आफूले चाहेको अनुसार सुरक्षित तरिकाले अप्रेसन गर्न सक्छन् ।

अस्पतालले अघिल्लो आर्थिक वर्षमा १ करोड ४१ लाख रुपैयाँमा खरिद गरेको अप्रेटिङ माइक्रोस्कोप जडान भएपछि हालसम्म दुईजना बिरामीको शल्यक्रिया गरिसकिएको अस्पतालले जनाएको छ। 

६० वर्षीया महिला र ७ वर्षीया बालिकाको सफलतापूर्वक उपचार सम्भव भएपछि अस्पतालले न्युरोसर्जरी सेवा सुरु गरेको हो।

दिमागका नशा फुलेर फुटेकोमा बाँध्ने, रगतका नशाहरूको गुच्छाको गडबडी र दिमागको क्यान्सरको शल्यक्रिया जस्ता उपचारमा यस प्रविधिको प्रयोग हुने हुँदा यस क्षेत्रका धेरै बिरामीहरू लाभान्वित हुन सक्ने अपेक्षा राखिएको छ।


Leave a Reply

Your email address will not be published.