दमक र भद्रपुर नगरको सेवा पूर्णबन्द, कोरोबारीमा लकडाउन

दमक र भद्रपुर नगरको सेवा पूर्णबन्द, कोरोबारीमा लकडाउन

झापाका दुई नगरपालिकाको सेवा पूर्णरूपमा बन्द गरिएको छ। कोरोना संक्रमणका कारण दमक र भद्रपुर नगरपालिकाको सेवा बन्द भएको हो।      

दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि र भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का 'काजी'लाई कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि सेवा बन्द गरिएको हो।

दुबै नगरपालिका शुक्रबारसम्मका लागि बन्द गरिएको छ। अब ति नगरपालिका आइतबार खुल्ने छन्।

नगर प्रमुख ओली र दमक १० का वडाध्यक्ष बोधराज न्यौपानेलाई  सोमबार कोरोना पुष्टि भएको हो। नगर प्रमुखकी श्रीमती लीला ओलीलाई आइतबार  नै संक्रमण देखिएको थियो। ओली दम्पत्तीसहित उनका छोरामा पनि संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।     

नगरपालिका पदाधिकारीमा समेत कोरोनाको संक्रमण देखिएपछि दमक नगरपालिका र सबै वडा कार्यालय बन्द गरिएको नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेद्वारा जारी सूचनामा लेखिएको छ।

भद्रपुर नगरपालिकाको बुधबारदेखि सम्पूर्ण सेवा ठप्प भएको छ। भद्रपुर १० का वडाध्यक्षसहित समुदाय स्तरमा कोरोना फैलिएको जनाउँदै  नगरपालिकाले  सेवा बन्द गरेको हो। 

नगरपालिका, वडा कार्यालय र विषयगत कार्यालयबाट हुने सबै सेवा बन्द गरिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जारी गरेको सूचनामा लेखिएको छ।

गौरीगञ्जको पनि सेवा प्रभावित

झापाको गौरीगञ्ज गाउँपालिकाको कृषि तथा पशुसेवा शाखा अनिश्चितकालका लागि बन्द गरिएको छ।

कृषि कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु दाहालले जारी गरेको सूचनामा लेखिएको छ। कर्मचारी गौरीगञ्ज २ कोरोबारीका हुन्। उनी होमआइसोलेसनमा  छन्।

कोरोबारीमा लकडाउन

गौरीगञ्ज २ वडा कार्यालयले साविक कोरोबारी क्षेत्रमा आंशिक लकडाउन  गरेको छ। वडा कार्यालय र सबै सेवा बन्द भएको जनाइएको छ।

स्वास्थ्य सेवा बाहेक स्थानीय हाटबजार, निजी तथा सरकारी विद्यालय, कलकारखाना, उद्योग  बन्द गरिएको वडाध्यक्ष अग्नु राजवंशीले जानकारी दिए।    

खाद्यान्न बिक्री लागि बिहान ७ बजेदेखि ११ बजेसम्म समय तोकिएको छ। सुरक्षाका सबै मापदण्ड पालना गर्न र बिना काम बाहिर ननिस्कन स्थानीयलाई भनिएको छ।

वडा कार्यालयले निर्णय अनिवार्य पालना गर्न सबैलाई अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published.