कोरोना संक्रमणबाट झापामा दुई महिने शिशुको मृत्यु

कोरोना संक्रमणबाट झापामा दुई महिने शिशुको मृत्यु

भद्रपुर नगरपालिका वडा ८ का दुई महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मृत्यु भएपछि ती शिशुमा संक्रमण पुष्टि भएको हो। मेची प्रादेशिक अस्पताल भद्रपुरमा शिशुको मंगलबार बेलुका मृत्यु भएको थियो। आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घन्टापछि कोरोना पुष्टि भएको हो। 

ती शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। शिशुमा कोरोनाको लक्षण देखापरेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो।

स्वाब लिएको ६ घन्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। परिवाले आज बिहान शवको दाहसंस्कार गर्ने तयारी गरेको थियो। 

तर, नगर स्वास्थ्य शाखाले शिशुको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाएको थियो। सेनाले भद्रपुर ७ स्थित देउनीया खोलाको संकटहरेश्वर बिश्रान्ति घाटमा शिशुको शव व्यवस्थापन गरेको नगर स्वास्थ्य शाखाका मनोज भट्टराईले जानकारी दिए।

शिशुको शव नेपाली सेनाद्वारा व्यवस्थापन गराउन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसहित नगरपालिकाको स्वास्थ्य शाखाका टोली शिशुको घर पुगेको थियो।

संक्रमित शिशुको शवलाई उनका परिवारका सदस्यसहित छरछिमेकले छोएको जानकारी आएकाले पाँच दिनपछि स्वाब संकलन गरिने छ।               

मृतक शिशुमा संक्रमण पुष्टि भएपछि उनको परिवार र छरछिमेकमा त्रास बढेको छ। योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ११ पुगेको छ।


Leave a Reply

Your email address will not be published.