वामदेवविरुद्ध मुद्दाको सुनवाई स्थगित 

वामदेवविरुद्ध मुद्दाको सुनवाई स्थगित 

काठमाण्डौं 

नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटउपर सुनवाई स्थगित भएको छ। 

कोरोनाका कारण न्यायाधीशहरू आइसोलेसनमा बसेपछि बुधबार हुने भनिएको सुनवाइ अनिश्चित भएको हो। यसअघि गौतमको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका छन्। 

गौतमको मुद्दा संवैधानिक इजलासमा सुनवाइ भइरहेको छ। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँचजना न्यायाधीश छन्। 

अधिकांश न्यायाधीश आइसोलेसनमा छन्। 

वरिष्ठ अधिवक्ता त्रिपाठीले कोरोनाका कारण न्यायाधीशहरु आइसोलेसनमा बसेपछि बुधबारको लागि तोकिएको सुनवाइ स्थगित भएको जानकारी दिए। 

उनले मुद्दाको अघिल्लो सुनवाइसम्बन्धी मितिको टुंगो नलागेको बताएका छन्। 

गौतमको नियुक्तिले संविधानको उल्लंघन भएको भन्दै त्रिपाठीले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन र मन्त्रिपरिषद्मा सामेल नगर्न अन्तरिम आदेशको माग गरेका थिए। 

उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रियसभा सचिवालय, नेकपा र गौतमलाई विपक्षी बनाइ रिट दायर गरेका छन्। भाद्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा राष्ट्रिसभा सदस्यमा मनोनित गरेकी थिइन्।


Leave a Reply

Your email address will not be published.