प्रस्तावित राजदूतहरुको सुनवाइ प्रक्रिया सुरु

प्रस्तावित राजदूतहरुको सुनवाइ प्रक्रिया सुरु

सरकारले हालै प्रस्ताव गरेको तीन राजदूतहरुको सुनवाइ प्रक्रिया सुरु भएको छ। सरकारले प्रस्ताव गरेको अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका राजदूतहरुको सुनवाइ प्रक्रिया संसदीय समितिले बुधबारदेखि सुरु गरेको हो।

सरकारले अमेरिकाकालागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई प्रस्ताव गरेको छ।

संसदीय समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले प्रस्ताव गरेका राजदूतहरुको सुनवाइ प्रक्रिया सुरु भएको जानकारी दिए। बुधबार बसेको समितिको बैठकले भोलिबाट लागू हुनेगरी प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको उनले बताएका छन्।

सरकारले खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाबाहेक पनामा, कोष्टिारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालको लागि राजदूतमा नियुक्तिको लागि सिफारिस गरेको छ।

यसैगरी पूर्वमुख्य सचिव रेग्मीलाई बेलायतको लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गरिएको छ।

डा.विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्बाबे, ज्ञावेनका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्न सरकारले सिफारिस गरेको छ।


Leave a Reply

Your email address will not be published.