बाराबाट ट्रकसहित एक क्विन्टल गाँजा नियन्त्रणमा

बाराबाट ट्रकसहित एक क्विन्टल गाँजा नियन्त्रणमा

प्रहरीले बाराबाट एक क्विन्टलभन्दा बढी लागुऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित सडकमा चेकजाँचको क्रममा १४७ केजी गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।

पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको ना ७ ख ९४५४ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा सातवटा बोरामा पोका बनाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीको चेकजाँच देखेपछि चालक ट्रक छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिएका छन्। फरार भएका चालक र ट्रकबारे अनुसन्धान भइरहेको उनले बताए।

यता प्रहरीले पर्साबाट आठ केजी अफिमसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले पर्साको कालिकामाई गाउँपालिका–१ तीनडोयिबा बस्ने २९ वर्षीय खोवारीप्रसाद कुर्मीलाई अफिमसहित पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले कुर्मीको घरमा छामा मारेर अफिमसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


Leave a Reply

Your email address will not be published.