शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन, प्रधानमन्त्रीले उद्घाटन गर्ने
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो विश्व ज्ञान सम्मेलन शुक्रबारदेखि आयोजना हुने भएको छ।
विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न सुरु गरिएकामा असोज २३ देखि २५ सम्म दोस्रो सम्मेलन हुन लागेको हो।
एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीका अनुसार भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहित सरकारका उच्च प्रतिनिधिसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन्।
साथै २५ भन्दा बढी देशका १ सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट ३ सयभन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ। सम्मेलनमा २ सयवटा कार्यपत्र प्रस्तुत गरिनेछन्।
क्षेत्रीका अनुसार कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ। साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।