सरकारी वार्ता टोली र डा. केसी पक्षबीच आज दिउँसो ४ बजे वार्ता हुने
सरकारले अनसनरत डाक्टर गोविन्दकेसीसँग वार्ताका लागि समिति गठन गरेसँगै केसी पक्षले पनि वार्ता टोली गठन गरेको छ।
२४ दिनदेखि अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय टोली बनाएको हो।
टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।
केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली गठन भएको छ। डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।
सरकार र सत्याग्रही डा केसीको वार्ता टोलीबीच आज (बिहीबार) दिउँसो ४ बजे वार्ता गर्ने तय भएको छ।