जोकोभिचले ग्रिक खेलाडीसँग सेमिफाइनल खेल्ने
विश्व नम्बर एक नोभाक जोकोभिच १० औं पटक फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन्।
सर्बियाली स्टार जोकोभिचले स्पेनका पाब्लो क्यारिनो बुस्टालाई ४-६, ६-२, ६-३, ६-४ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन्।
एक महिनाअघि यूएस ओपनको चौथो चरणमा क्यारेना बुस्टासँग खेल्ने क्रममा लाइनजजमाथि बल प्रहार गर्दा ३३ वर्षे जोकोभिच कारबाहीमा परेका थिए।
यूएस ओपनको सेमिफाइनलमा अजेक्जान्डर जेभरेभसँग दुई सेट आफ्नो पक्षमा पारेर पनि खेल गुमाएका बुस्टाले जोकोभिचविरुद्ध पहिलो सेट जितेर राम्रो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेनन्।
क्ले कोर्टका विशेषज्ञ स्पेनिस राफेल नाडाल इटालीका उदीयमान खेलाडी जानिक सिनरलाई ७-६, ६-४, ६-१ ले हराएर सेमिफाइनल पुगेका छन्। कीर्तिमानी १३ औं फ्रेन्च ओपन जित्ने अभियानमा रहेका नाडालले १९ वर्षे प्रतिदन्दीसँग कठिन जित आत्मसात गरे।
उनले अर्जेन्टिनाका डिएगो स्वार्टजमनसँग खेल्नेछन्। गत महिना इटालियन कपको क्वाटरफाइनलमा स्वार्टजमनले नाडाललाई हराएका थिए। नाडालसँगको १० औं भेटमा स्वार्टमनको पहिलो सफलता थियो।
यूएस ओपन विजेता अस्ट्यिाका डोमिनिक थिएमलाई ७-६, ५-७, ६-७, ७-६, ६-२ ले हराएर ग्रान्ड स्लामको सेमिफाइनल पहिलो पल्ट पुगेका छन्। यी दुईबीचको खेल ५ घन्टा चलेको थियो।
त्यस्तै २२ वर्षे ग्रिसका स्टेफानोस सिट्सीपासले रुसी आन्द्रेय रुब्लेभलाई ७-५, ६-२, ६-३ ले पराजित गर्दै सेमिफाइनल तय गरेका छन्। उनले अब जोकोभिचको सामना गर्नेछन्।
महिलातर्फ चेक गणतन्त्रकी सातौं वरीयताप्राप्त पेट्रा केभिटोभाले जर्मनीकी लाउरा सिगमन्डलाई ६-३, ६-३ ले पराजित गर्दै फ्रेन्च ओपनको सेमिफाइनल तय गरेकी छन्। आठ वर्षको अन्तरमा उनी फ्रेन्च ओपनको सेमिफाइनल पुगेको दोस्रोपल्ट हो।
दुईपल्टकी विम्बल्डन विजेता ३० वर्षीया कोभिटोभाले सन् २०१२ मा फ्रेन्च ओपनको सेमिफाइनल खेलेकी थिइन्।
चौथो वरीयताकी अमेरिकी सोफिया केनिनले पहिलोपल्ट फ्रेन्च ओपनको सेमिफाइनल यात्रा तय गरिन्। उनी अस्ट्रेलियन ओपन च्याम्पियन हुन्।
केनिनले आफ्नै देशकी ड्यानिली कोलिन्सलाई ६-४, ४-६, ६-० को सेटमा हराइन्। केनिनले केभिटोभासँग अन्तिम चारमा प्रतिस्पर्धा गर्नेछिन्।
चौथो वरीयताकी अमेरिकी सोफिया केनिन । तस्बिर : एजेन्सी