टिचिङमा चिकित्सकहरूको धर्ना, आजै सरकारी टाेलीसँग वार्ता हुँदै
डा.गोविन्द केसीको जीवन रक्षाका लागि टिचिङ अस्पतालमा चिकित्सकहरूले धर्ना दिइरहेका छन्। नेपाल चिकित्सक संघका पदाधिकारी लगायत टिचिङमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरू धर्नामा बसेका छन्।
डा.केसी १९ औं पटक अनसनमा बसेको आज २५ दिन भइसकेको छ। आज डा. केसी र सरकारी टोलीबीच वार्ता पनि हुँदैछ।
सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच छलफल हुन लागेको हो।
सरकारी टोलीबाट शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा रहेका छन्।
डा केसीको वार्ता टोलीमा डा जीवन क्षेत्री, डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की रहेका छन्।