चन्दननाथ मन्दिरबाट चोरी भएको बहुमूल्य दाहीने शङ्‌ख भेटियो

चन्दननाथ मन्दिरबाट चोरी भएको बहुमूल्य दाहीने शङ्‌ख भेटियो

जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको बहुमूल्य दाहीने शङ्ख भेटिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका–१० बोहरागाउँको खोलापानेस्थित एक ओडार मुनि लुकाइराखिएको अवस्थामा बुधबार प्रहरीले उक्त दाहीने शङ्ख फेला पारेको हो।

रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाइवरको क्वालिटी रङको झोलामा बेरेर राखेको अवस्थामा ओडारभित्र शङ्ख भेटिएको प्रहरीले जनाएको छ। 

केही दिनअघि मन्दिरको दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बहुमूल्य दाहीने शङ्ख फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

तीनदिन अघि चन्दननाथ नगरपालिका–१० का स्थानीय सुशील बिष्टको खेतको आलीमुनी सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा मन्दिरका दुई थान मूर्ति प्रहरीले फेला पारेको थियो। शंकास्पद बिष्टसहित तीनजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।

११ मंसिर २०७३ मा चन्दननाथ मन्दिरबाट एक दाहिने शङ्खसहित दर्जनौ मूर्ति चोरी भएका थिए। घटनाको केही दिन लगतै मन्दिरका पुजारी चन्द्रमौलेश्वर गिरी र स्थानीय जयकृष्ण आचार्यसमेत पक्राउ परेका थिए।

चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरू बेबारिसे अवस्थामा भेटिएका छन्।


Leave a Reply

Your email address will not be published.