पोखराका ८३ वर्षे कोरोना संक्रमित वृद्धको मृत्यु
पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १६ का ८३ वर्षे वृद्धको बिहीबार मृत्यु भएको हो।
१३ असोजमा कोरोना पुष्टि भएपछि उनी केन्द्रको आइसियुमा भर्ना भएका थिए। ती वृद्धमा कोभिडसँगै मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी समस्या रहेको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका आठ, गोरखाका सात, तनहुँका पाँच, स्याङ्जाका तीन, बागलुङ, म्याग्दी र लमजुङका एक/एक जना छन्।
थप ३७ जनामा कोरोना
गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नवलपुरका १९, बागलुङका १२, कास्कीका पाँच र तनहुँका एक जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ सय ४७ पुगेको छ। तीमध्ये ३१ सय ४९ जना निको भएका छन्।