डा. केसीलाई देख्ने हुटहुटीले मध्यरातमा टिचिङ
भित्र पस्दा कस्तो-कस्तो मन अमिलो भइरहेको थियोे।
डा.साब नमस्कार! भारी मन लिएर यति भन्न सकेँ।
उनले सलाइन चढाएको हात उठाउन खोजे।
थोरै उठेपछि फेरि बेडमै लतारियो।
लाग्यो, बेकारमा नमस्कार गरेछु।
फोकटमा दुःख दिएछु।
पुलुक्क हेरे बोल्न सकेनन्।
मनले हात उठाउन खोज्दै थिए।
तर, गलेको र थला परेको भोको शरीरले साथ दिइरहेको थिएन।
देओस् पनि कसरी!
मुखमा चारो नगएको २५ दिन भइसक्यो।
एक त त्यसै पनि बुढो शरीर।
त्यसैमाथि २५ दिनदेखि भोक, प्यास निद्रा र शान्ति सबै गुमेको छ।
हात उठाउन खोजे पनि उठ्न सकिरहेको थिएन।
त्यसपछि उनले यता फर्केर हेरेनन्।
उनी दलिनतिर हेरिरहे।
…
रात छिप्पिँदै थियो।
सहरका गल्ली हुन् वा मुख्य सडक सबै सुनसान थिए।
मात्र कुकुरको हु.. हु..बाहेक।
त्रिवि शिक्षण अस्पताल पुग्दा रातको करिब साढे ११ बजिसकेको थियो।
अस्पताल परिसर करिब सुनसान बन्न थालिसकेको थियो।
प्रहरीले डा. केसीलाई भेट्न दिँदैनन्। यस्तै सुनेको थिएँ।
मलाई भने उनलाई जसरी पनि भेट्नु थियो।
भुइँ मान्छेका डाक्टर, गरिब, दीनदुःखीका ‘मसिहा’ डा. केसीलाई टाढैबाट भए पनि हेर्नु थियो।
अस्पताल परिसर पुगेर सरासर उनलाई राखेको कक्षतिर लागेँ।
मलाई हेर्न हुटहुटी थियो।
र, त राति ११ बजे घट्टेकुलोबाट शिक्षण अस्पताल पुगेको थिएँ।
…
केसीलाई राखेको एनेक्स वार्ड पुग्दा करिब राति ११ः१० भइसकेको थियो।
गेटमा दुई प्रहरी तैनाथ थिए।
कसलाई खोज्नुभएको? के काम थियो?
उनीहरू यस्तायस्तै प्रश्न गर्न थाले।
लाग्यो, भित्र जान दिने छाँट छैन।
‘भित्र जान पाइँदैन्,’ उनले भने।
सँगै रहेका साथी पुष्पले फ्याट्ट भनिहाले, ‘केसी हाम्रा आफन्त हन्।’
त्यसो भए नाम सम्पर्क नम्बर लेख्नुस्, जानुस्।
यति भन्दै गर्दा मैले फटाफट नाम नम्बर लेखेँ।
पुष्पलाई देखेर मुसुक्क हाँसे, र धन्यवाद दिएँ।
केसीको उपचारमा डा.तोसिमा कार्की थिइन् भने अर्कालाई चिन्न सकिएन।
…
सुनसान कोठा।
मुखमा अक्सिजन।
हातमा सलाइन पानी।
बेडको शीर पट्टिको भाग उठाइएको थियो।
चाउरी परेका गाला।
उनको नजर भित्तातिरै थियो।
एउटा हातमा ब्यान्डेज। अर्कोमा तप्पतप्प झर्दै गरेका सलाइन पानीका थोपा।
कलेटी परेको सुक्खा फुटेको ओठ।
मनिटरमा मुटुको चाल कहिले ६९, कहिले ७० कहिले ७२ सम्म पुग्थ्यो।
केसीको पीडा मनिटरमा सल्बलाइरहेको थियो। तर, उनी आफ्नो दुखाइ अरूलाई सुनाउन चाहँदैनन्।
पक्कै पनि गरिब, निमुखाका छोराछोरी डाक्टर बन्न पढ्न पाउने दिन कहिले आउला भनेर सोच्दै होलान्। ती उनका सपना नै त हुन्।
…
त्यो कर्णाली सोच्दै थिए कि, वा त्यो सुदूर।
कोठामा रहेको मेसिनको टुँ टुँ ट्याँट्याँबाहेक केही थिएन।
‘दुरदराजमा मेडिकल शिक्षा खोई?’ बेडमा पर्चा टाँसिएको छ।
हावाको झाेंकासम्मको महसुस थिएन।
कहिले ६८ त कहिले ७०–७२।
करिब १० मिनेट बस्दा एकपटक पनि उनको शरीर चल्मलाएन, हल्लिएन।
मलाई भन्न मन लाग्यो, ‘उठ बा, कति मर्छौ? हरेकपटक।’
न त तिमीसँग सत्ता छ न शक्ति।
कति मर्छौ बा कति?
तर, भन्न सकिनँ।
…
उनको मौनताको मूल्य महँगो पर्नेछ।
रहरले पनि त उनी सत्याग्रह बसेका होइनन्।्
न उनको विद्रोह आफन्तका लागि हो न परिवार।
कसका लागि गर्नु? किन गर्नु? को छ र उनको?
यस्ता अनेकन प्रश्नले कसिएको थिएँ म।
भन्न मन थियो,
तपाईं नउठे गरिबले उपचार कसरी पाउने?
भुइँमान्छेका छोराछोरी कसरी डाक्टर बन्ने?
गरिब, निमुखाका लागि कसले बोलिदिने, कसले बाँचिदिने?’
तर, भन्न सकिनँ।
भन्न सके पनि सायद उनी बोल्न सक्दैन थिए।
उनी व्यक्तिमात्रै होइनन्, सम्पूर्ण नेपालीका आवाज हुन्।
आवाजविहीनहरूका धरोहर हुन्, आसा हुन्, किरण हुन्।
उनी भित्तातर्फ हेरेर टोलाइरहे।
निस्किँदा दुःख दिन मन लागेन।
चुपचाप निस्कियौँ।
…
केसीका सहयोगी डाक्टर तोसिमा कार्कीलाई जान्छौं भनेर हिँड्यौं।
ढोकाबाट निस्किने बेला फेरि एकपटक पछाडि फर्केर उनलाई हेर्न मन लाग्यो।
फनक्क टाउको घुमाएँ।
र, भन्न मन लाग्यो–
भगवान रक्षा गर्नू!
जति अग्निपरीक्षा लिए पनि अँधेर नगर्नू!
रक्षा गर्नू!