बाँकेमा चाडपर्वमा अनुगमन तीव्र बनाइने

बाँकेमा चाडपर्वमा अनुगमन तीव्र बनाइने

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै बाँकेमा बजार अनुगमनलाई तीव्रता दिइने भएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको नियामक सरकारी निकायहरू र व्यवसायी प्रतिनिधिहरू बीचको बैठकले त्यस्तो निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए।

चाडपर्वको बेला बजारमा माग बढ्ने र त्यसबेला विभिन्न बाहानामा मूल्य वृद्धि हुन सक्ने तथा गुणस्तरहीन बस्तु पनि बजारमा आउन सक्ने सम्भावनालाई मध्येनजर गर्दै अनुगमनलाई तीव्रता दिइने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वांगले बताए। चाडपर्वका बेला सबै निकाय मिलेर उपभोक्ताको हितमा काम गर्न कुरूम्वांगको आग्रह छ।

नेपालगंज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले उपभोक्ताको हक, हित र अधिकारको लागि उपमहानगरपालिकाकाले कानुन बनाएर काम गरिरहेको र बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाइने जानकारी दिइन्।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संजु कुमारी चौधरीले पनि नगरपालिकाले कानुन बनाएर व्यस्थित रुपमा उपभोक्ता हितको कार्यक्रमलाई अघि बढाइरहेको बताइन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्यालले उपभोक्ता हित सबैको साझा विषय भएकोले बजार अनुगमनलाई सबै पक्षले सहयोग गर्नु पर्ने धारणा राखिन्।

अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले विभिन्न बाहानामा उपभोक्ताहरु मारमा परिरहेको हुनाले सबै पक्ष जिम्मेवार हुनु पर्ने र नियामक निकायहरू समन्वयात्मक ढंगबाट अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले चाडपर्वको बेला बजारमा उपभोग्य सामानको अभाव नहुने र बजार अनुगमनमा संघको सहयोग र सहकार्य रहने धारणा राखे।


Leave a Reply

Your email address will not be published.