विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिद्धर ०.६ प्रतिशतमा खुम्चने
विश्व बैंकले चालु आव २०७७/७८ मा नेपालको आर्थिक वृद्धिद्धर ०.६ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ।
कोभिड-१९ का बाबजुत सरकारले चालु आवको आर्थिक वृद्धिद्धर ७ प्रतिशत पुग्ने आकलन गरे पनि विश्व बैंकले त्योभन्दा निकै कम वृद्धिद्धरको अनुमान गरेको हो।
विश्व बैंकले सार्वजनिक गरेको दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन अनुसार कोभिड-१९ र लकडाउनले पर्यटनसहितका आर्थिक गतिविधिमा पुर्याएको असरका कारण सन् २०२० (गत आव) मा ०.२ प्रतिशतमात्र आर्थिक वृद्धि रहेको बताएको छ। केन्द्रीय तथ्यांक विभागले भने २.३ प्रतिशत भन्दै आएको थियो।
बैंकले बिहीबार सार्वजनिक गरेको दक्षिण एसियाका लागि आर्थिक प्रतिवेदन ‘साउथ एसिया इकोनोमिक फोकस’मा गत महामारीको विनासकारी असर जारी रहेका कारण दक्षिण एसिया हालसम्मकै बृहत मन्दीमा डुबेको भन्दै यसैका कारण लाखौं दक्षिण एसियालीहरू चरम गरिबीमा धकेलिएको उल्लेख छ ।
बैंकले बिहीबार सार्वजनिक गरेको अर्धवार्षिक अपडेट अनुसार कोभिड-१९ को महामारीका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको छ। फलतः अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी मारमा परेका छन्।