विद्यालय खोल्ने निर्णय उपमहानगरकै लागि बन्यो घाँडो

विद्यालय खोल्ने निर्णय उपमहानगरकै लागि बन्यो घाँडो

कोरोना महमारीका कारण  झण्डै सात महिनादेखि बन्द रहेका शैक्षिक संस्थाहरू जनकपुरधाम उपमहानगरपालिकाले मंगलबारदेखि सञ्चालन गर्ने निर्णय ग-यो। चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाहरू मगंलबारबाट सञ्चालन गर्न सकिने उपमहानगरले मंगलबार साँझ निर्णय गरेको थियो।

उपमहानगरले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई भौतिक रुपमा उपस्थित गराएर विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको छ। एउटा कक्षामा बढीमा २५ जना विद्यार्थी राखेर दैनिक तीन घण्टा अनिवार्य विषयमात्र पढाउन सकिने निर्णय उपमहानगरको छ। सात महिनापछि विद्यालय खुल्ने भएपछि अभिभावक र विद्यार्थी पक्कैपनि उत्साहित हुनुपर्ने थियो।

तर, उपमहानगरले विद्यालय खोल्न गरेको निर्णयको चौतर्फी विरोध भइरहेको छ। जनकपुरभित्र कोरोना महामारीको जोखिम कायमै रहेको बेला दसैंको मुखमा विद्यालय खोल्ने उपमहानगरको अपरिपक्व निर्णय रहेको अभिभावकका साथै, कतिपय विद्यालय र वडाध्यक्षहरूले बताउन थालेका छन्।

निर्णय भएको भोलिपल्ट मंगलबारदेखि विद्यालय खोल्ने निर्णय भएपनि जनकपुरका अधिकांश निजी विद्यालयहरू बन्द नै छन्। कतिपय निजी विद्यालयहरूले आइतबारदेखि पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेका छन् भने कतिपयले कोरोनाको जोखिम कायमै रहेकोले छठपछि मात्रै विद्यालय सञ्चालन गर्ने सूचना प्रकाशित गरिसकेका छन्। 

विद्यालय सञ्चालन गर्ने उपमहानगरको निर्णयलाई वडा नम्बर–७ का अध्यक्ष जानकीराम साहले विरोध गरेका छन्। बालबालिकालाई कोरोना संक्रमणको मुखमा धकल्ने गरी उपमहानगरले अपरिपक्व निर्णय गरेको साह बताउँछन्। 

‘६/७ महिनासम्म बन्द रहँदा केही नहुने तर, दसैं तिहारको मुखमा विद्यालय सञ्चालन गर्ने निर्णय उदेग लाग्दो छ,’ वडाध्यक्ष साह भन्छन्,‘बालबालिकाको ज्यान जोखिममा राखेर पठनपाठन सञ्चालन गर्न सकिन्न।’

संख्या थोरै भएपनि धनुषामा दिनहुँ संक्रमित फेला परिरहेका छन्। धनुषामा बुधबार ८जनामा संक्रमण पुष्टि भएको छ। त्यसअघि मंगलबार १४ र सोमबार ९ जनामा संक्रमण देखिएको थियो। धनुषाका संक्रमितमध्ये जनकपुरका पनि छन्। सँधै जस्तो संक्रमण पुष्टि भइरहेको बेला अभिभावकहरू पनि बालबालिकालाई विद्यालय पठाउन डराएका छन्।  

कोरोना संक्रमणको जोखिम यथावत रहेको बेला बालबालिकालाई विद्यालय पठाउन उपयुक्त नहुने अभिभावक आतिश मिश्र बताउँछन्। हचुवाको भरमा उपमहानगरले गरेको निर्णयका कारण विद्यालय जाने बालबालिका जोखिममा पर्ने निश्चित रहेको उनको भनाइ छ। केही निजी विद्यालयको प्रभावमा परेर उपमहानगरले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हुनसक्ने मिश्र बताउँछन्।

जनकपुरधाम–४ स्थित युरेका स्कुलका अध्यक्ष राजकुमार झाले छठपछि मात्रै विद्यालय सञ्चालन हुने सूचना नै निकालिसकेका छन्।

‘वर्तमान परिस्थितिमा विद्यालय सञ्चालन गर्न उपयुक्त नदेखिएको हुनाले छठ पर्वसम्म प्रतिक्षा गर्ने। र, उपयुक्त वातावरण देखिए छठ समाप्त भउको अघिल्लो दिनदेखि विद्यालय सञ्चालन गर्ने,’ विद्यालयका अध्यक्ष झाले उपमहानगरलाई पत्र लेखेका छन्।

उपमहानगरले सरकारले जारी गरेको निर्देशिकाका शर्तअनुसार सुरक्षाको उपाय अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। तर, धनुषासँगै टासिएको सिरहामा स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्ने निर्णय गरेपनि बालबालिकालाई जोखिम बढेको भन्दै स्थानीय प्रशासनले भौतिक उपस्थिति गराएर पठनपाठनमा रोक लगाएको छ।


Leave a Reply

Your email address will not be published.