काठमाडौं–रक्सौल रेल : ‘डिपिआर’ गर्न भारत आतुर, कोरोना बन्यो बाधक

काठमाडौं–रक्सौल रेल : ‘डिपिआर’ गर्न भारत आतुर, कोरोना बन्यो बाधक

वीरगन्ज रक्सौल नाकाबाट संघीय राजधानी काठमाडौंसम्म रेल सेवा विस्तार गर्ने विषयमा छलफल सुरु भएको छ। रेलमार्ग विस्तार गर्न भारतले तयार गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्बन्धी प्रस्तावमाथि सरकारले छलफल सुरु गरेको हो।

भारतले रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तारका लागि डिपिआर तयार गर्न नेपालसँग स्वीकृति माग गरेको प्रस्तावमाथि छलफल सुरु भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

भारतले कोरोना महामारीकै बीच रेलमार्ग निर्माणसम्बन्धी डिपिआर तयार गर्न स्वीकृति मागेको हो। 

‘रेलमार्गको डिपिआर तयार गर्न भारतले पठाएको प्रस्ताव छलफलका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिमा पठाइएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले बिहीबार आयोमेलसँग भन्यो।

काठमाडौं लैनचौरस्थित भारतीय दूतावासमार्फत नेपाल सरकारलाई पठाइएको प्रस्तावमा भारतले चाँडै रक्सौल–काठमाडौं रेलमार्ग निर्माण गर्न चाहिरहेको उल्लेख छ।

भारतले काठमाडौं–रक्सौल रेलमार्ग निर्माण गर्न डिपिआर तयारीको स्वीकृति माग्दै पछिल्लो महिना नेपाल सरकारलाई प्रस्ताव पठाएको थियो। भारत सरकारअन्तर्गत रहेको कोंकण रेल्वे कम्पनीले डिपिआर तयार पार्ने जिम्मा पाएको छ।

‘हामीले भनेअनुसार भारतीय टोली नेपाल आएर डिपिआर प्रक्रिया सुरु गर्न तयार छ। उसले डिपिआरका लागि आउँदा आफूसँग ल्याउने सामग्रीको विवरणसमेत हामीलाई उपलब्ध गराएको छ,’ नेपाल रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले भने, ‘हामीले यहाँ आउने भारतीय टोलीका सदस्यहरूको ओहदासहितको विवरण उपलब्ध गराउन भनेका छौं।’

उनका अनुसार कोरोना महमारीका कारण अहिले अवस्था सहज भने छैन। 

‘तर पनि भारतीय पक्ष रेलमार्ग निर्माणका लागि अध्ययन गर्न आतुर देखिएको छ,’ उनले भने, ‘हामीले मागेको विस्तृत विवरण उताबाट आइसकेपछि थप कुरा अघि बढ्छ।’

स्रोतका अनुसार भारतीय पक्षले पठाएको विवरण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै गृह मन्त्रालय र त्यसपछि कोरोना रोकथाम नियन्त्रण समितिमा पठाइने छ। समितिले यसबारे अन्तिम निर्णय गर्ने छ।

रक्सौलबाट बारा जितपुर हुँदै निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट काठमाडौंसम्म रेल पुर्‍याउने योजना छ। १ सय ३६ किलोमिटर रक्सौल–काठमाडौं रेलमार्गमध्ये ४२ किलोमिटर सुरुङले ओगट्ने बुझिएको छ। रेलमार्ग निर्माण गर्न ३ खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

काठमाडौंलाई भारतको रक्सौल नाकासँग जोड्नका लागि रेलमार्ग निर्माण गर्न नेपाल र भारतबीच सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथौ बिमस्टेक सम्मेलनान सम्झौता भएको थियो।


Leave a Reply

Your email address will not be published.