विद्युतिकरणको पक्षमा दबाव सिर्जना गर्न अगैयामा चक्काजाम

विद्युतिकरणको पक्षमा दबाव सिर्जना गर्न अगैयामा चक्काजाम

राप्तीसोनारी र नरैनापुरका स्थानीयहरूले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर कुसुम सडकखण्डको अगैयामा दुई घन्टा चक्काजाम गरेका छन्। 

राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएरको गौरीपार्वती श्रीउष्मा जेभीले काम गर्नुको साटो उल्टै विद्युत प्राधिकरणविरुद्ध उच्च अदालतमा मुद्दा हालेपछि स्थानीय आन्दोलित बनेका हुन्। आन्दोलनकै क्रममा आज स्थानीयहरूले कोहलपुर कुसुम सडक खण्डको अगैयामा २ घन्टा चक्काजाम गरेका छन्।

राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएर करिव ९ वर्षसम्म काम नगरी योजनालाई अलपत्र पारेकोभन्दै निर्माण कम्पनी र निर्माण कम्पनी सञ्चालकलाई कारबाहीको माग गर्दै स्थानीय आन्दोलित बनेका हुन्।

संविधानसभा सदस्य पट्टु थारुको संयोजकत्वमा गठन भएको संघर्ष समितिले सडकमा आएर विरोध जनाएको हो।

२०६९ सालमा राप्तीसोनारीको बैजापुर र साविकको नरैनापुरको वडा नम्बर ४ मा विद्युतिकरणको काम गर्ने जिम्मा लिएको कम्पनीले हालसम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्द गरेपछि सो कम्पनीले विद्युत प्राधिकरणविरुद्ध तुलसीपुर उच्च अदालत नेपालगञ्जमा मुद्दा हालेको छ।

८ करोड ७० लाखमा ठेक्का लिएको उक्त निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीय जनताले विद्युतबाट बञ्चित हुनुपरेकाले सो ठेक्का रद्द गर्नुपरेको नेपाल विद्युत प्राधिकरणले बताएको छ।

साबिकको बैजापुर गाबिसको वडा नम्बर ३ र ४ तथा नरैनापुरको वडा नम्बर ४ मा पूर्णरुपले विद्युतिकरणको काम गर्ने भनी २०६९ सालमा राजेन्द्र मिश्र प्रोप्राइटर रहेको उक्त कम्पनीले ठेक्का लिएको थियो।


Leave a Reply

Your email address will not be published.