भक्तपुरको देवी माविलाई चार करोडको नवनिर्मित भवन हस्तान्तरण

भक्तपुरको देवी माविलाई चार करोडको नवनिर्मित भवन हस्तान्तरण

चार करोड लागतमा निर्माण सम्पन्न भएको भवन देवी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीको सौडोलस्थित नवनिर्मित भवन बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको हो।

वि.सं. २०७२ सालको विनासकारी भूकम्पले क्षति पु-याएको विद्यालयको भवन निर्माणका लागि एसियाली विकास बैंक र नेपाल सरकारको सहयोग गरेको थियो।

केन्द्रीय कार्यान्वय इकाई (शिक्षा) र जिल्ला आयोजना इकाई शिक्षा) को सहकार्यमा डिआरएसपी प्रथम कार्यक्रम अन्तर्गत निर्मित सो भवनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले गरेका थिए।

सांसद सुवालले उद्घाटन गरेपछि जिल्ला आयोजना इकाई (शिक्षा)का प्रमुख भरतबहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र विद्यालयका प्रधानाध्यापक राजाराम छुकांलाई संयुक्त रुपमा विद्यालयको साँचो हस्तान्तरण गरका थिए। भवन निर्माणका लागि ३ करोड ७३ लाख ७७ हजार बजेट विनियोजन भएको थियो।

भवन निर्माणको काम २०७५ पुस २५ गतेबाट सुरु भएको थियो। गत बैशाखमै निर्माण सम्पन्न उक्त भवन कोरोना महामारीका कारण रोकिएको थियो।
हाल ६ सय ५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयले नयाँ भवन पाएसँगै शैक्षिक क्रियाकलापलाई सहज रुपमा अघि बढाउन सहयोग पुग्ने विद्यालयका प्रध्यापक छुकांले बताए। ‘भूकम्पका कारण भवनमा क्षति पुगेकाले पठनपाठनमा निकै समस्या हुँदै आएको थियो। अब हामीले सात कोठे भवन पाएका छौं। समस्या हल हुने छ,’ उनले भने।

भवन हस्तान्तरणसँगै विद्यालयलाई पठनपाठनमा सहज हुने जिल्ला आयोजना इकाई (शिक्षा)का प्रमुख भरतबहादुर श्रेष्ठले जानकारी दिए।

आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता : सुवाल

यसैबीच सांसद सुवालले आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता रहेको बताएका छन्।

भूकम्पप्रतिरोधी अत्याधुनिक भवन पाएपछि विद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग पुग्ने आफूले विश्वास लिएको उनले बताए।

उनले अहिले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको समयमा अझ बढी आत्मनिर्भर अर्थतन्त्रको जरुरी महसुस भएको बताउँदै सरकारले त्यसतर्फ ध्यान दिन नसकेको टिप्पणी गरे।

उनले अहिले पनि सरकार एमसिसि पास गराउन उद्यत रहेको आरोप लगाए। 'सरकार देशलाई आत्मनिर्भर बनाउनेभन्दा परनिर्भर बनाउनेतिरै केन्द्रीत छ। जुन दुखद् हो', उनले भने।

सांसद सुवालले कोभिड १९ को संक्रमणले विकासोन्मुख देशका गरिब जनतालाई समस्या भएको बताए। कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी व्यवहारलाई स्वास्थ्यमैत्री बनाउन जरुरी रहेको उनले बताए।

सोही अवसरमा सांसद सुवालले विद्यालय भवन निर्माणमा सहयोग गर्ने परामर्सदाता, इञ्जिनियर र निर्माण व्यवसायीलाई कदर पत्र प्रदान गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला, शिक्षक राजेन्द्रकुमार साखकर्मीले विद्यालयले दिने शिक्षालाई अझ प्रभावकारी बनाउन आफूहरू लागिरहेको बताएका थिए।


Leave a Reply

Your email address will not be published.