फड्के र गवारोले रुवायो किसानलाई
धानमा बाला लाग्दैथ्यो, अविनास महतोको खेतमा एकाएक धान सुक्न थाल्यो। फड्के किराले आक्रमण गरेपछि उनको दुई कठ्ठा खेतको धान पराल बनाइदिएको छ।
चितवन माडी नगरपालिका–२ किरौलीका किसान महतो भन्छन्, ‘धान पाक्ने बेला हुँदैथ्यो, किराले काट्न थालेपछि खत्तम पार्यो।’
कीटविज्ञहरूका भनाइमा फड्के किराले धानको डाँठ चुसिदिने भएकाले धान परालजस्तो हुन थाल्छ। गवारोले धानको गुबोमै आक्रमण गर्छ।
बारा कलैया उपमहानगरपालिका–२० बसतपुरका किसान सुरेन्द्रप्रसाद यादवले अगहनी धान लगाएका छन्। तर, फड्के र गवारो किरा पल्केपछि धानबाली नै सखाप पार्न थालेको छ।
‘विषादी छर्के पनि किरा भागेन,’ उनले भने।
यो वर्ष चितवन, बारा, पर्सा र झापासहित तराईका जिल्लामा यी किराको प्रकोप देखिएको छ। धान पसाउने बेला सुरु भएको किराको आक्रमण अझै कायम छ।
आयोमेलका वीरगन्ज संवाददाता आरोहण शाहका अनुसार पर्साको सुवर्ण गाउँपालिका, हर्दिया, परशुरामपुर, मझरिया, जमुनिया, बगही, कवही, सनफुलवालगायत क्षेत्रमा यी कीराले सयौं बिघा धानमा क्षति पु¥याएको छ।
गवारो र काँडेदार अपटे हिस्पा किराले बाली नै नोक्सान गर्न थालेको सुवर्ण गाउँपालिकाका कृषि शाखा प्रमुख महेश्वर अधिकारीले बताए।
ब्लास्ट तथा खेरौ थोप्लो रोगले सुवर्ण गाउँपालिकाका किसान तनावमा रहेको र भिन्न विषादी प्रयोग गर्न सल्लाहसमेत दिने गरेको उनले बताए।
बारा सिम्रौनगढ, महागढीमाई, कोल्हबी नगरपालिकामा रोगको प्रकोप बढेपछि कृषि प्राविधिक खटाइएको छ। यी क्षेत्रमा अगहनी धानमा रिठ्ठे किरा, गवारो, खपटे दार हिस्पा, फड्के किरा, पतेरो, पात बेरुवा र मिलिबग किराको आक्रमण बढेको छ।
धानमा किरा किन पल्कियो?
कीटविज्ञ समुद्रलाल जोशीका अनुसार यो वर्ष धानमा पात र फेद डढ्ने डढुवा, सिथ ब्लाइट रोग तथा फड्के किरा र गवारो देखिएको छ।
फड्के र गवारोको प्रकोप बढ्दै गएको छ।
‘मेरो अनुभवमा हरेक तीन–चार वर्षमा यी कीराको प्रकोप देखिने गरेको छ,’ जोशीले भने, ‘जथाभावी विषादी प्रयोगका कारण पनि असर बढ्दै गएको देखिन्छ।’
जोशीका भनाइमा खेतबारीमा सत्रुमात्र नभई मित्र किरा पनि हुन्छन्। तर, किरा मार्ने, उत्पादन बढाउने नाममा जथाभावी विषादीको प्रयोग बढाउँदा मित्र किरा मर्ने गर्छन्।
‘बालीका लागि सत्रु रहेका किरा मारिदिएर सहयोग गर्ने किरालाई हामी जानी–नजानी विषादी छर्केर मारिदिन्छौं,’ उनले भने, ‘फलतः सत्रु किराको संक्रमण बढ्न जान्छ।’
अहिले किसानले विषादी प्रयोग गरे पनि फड्के, गवारो किरा हट्न सकेको छैन। कारण, विषादी प्रयोग बढाउँदै लैजाँदा किराका नयाँ सन्तानमा विषादी पचाउने क्षमता पनि बढ्ने गरेको कीटविज्ञहरू बताउँछन्।
विषादी प्रयोग घटाएर जैविक खेतीमा बढावा दिनुपर्ने, किरा नलाग्ने जातका बाली लगाउनुपर्ने उनको भनाइ छ। जोशी गवारो किराको पूर्वानुमान गर्न सकिने बताउँछन्।
‘गवारोले कहिले फुल पार्छ अनि कहिले लार्भा हुन्छ भनेर पूर्वानुमानबारे किसानलाई जानकारी दिनुपर्छ,’ उनले भने।
फड्के किराले धानको पात चुसेर खान्छ, जसका कारण धानको विरुवा सुक्छन्। विरुवा गाँजिन र बढ्न सक्दैन। धानको बोटमा बाला नलागी परालजस्तो भई सुकेर ढल्छ।
विरुवा नजिक नरोप्ने र प्रतिगाँजमा दुई–तीनभन्दा बढी बेर्ना नरोप्ने, नाइट्रोजनयुक्त मलखाद उचित प्रयोग गर्ने र खेतमा पानीको सतह घटबढ गराउने गर्नुपर्ने उनले बताए।
यसैगरी, गवारो बयस्क अवस्थामा विभिन्न आकारका पुतलीजस्ता देखिन्छ।
गवारोले बोटमा आक्रमण गर्दा बालामा दाना लाग्दैन। जोशीका अनुसार बेर्नाको पातको टुप्पोमा गवारोको फुल देखिए पात चुँडेर नष्ट गर्ने गर्नुपर्छ भने किरा नष्ट गर्ने गर्नुपर्छ।
धान खेतका आलीमा भटमास लगाउने, माकुर, लामा सिंगेफटयांग्रोको संरक्षण गरेमा गवारो हट्नसक्ने उनले बताए।
कहाँ कति क्षति?, छैन तथ्यांक
‘विशेष प्रकृतिका किराको आक्रमण भयो भने हामीले तथ्यांक संकलन गर्छौं होइन भने प्रदेशले नै हेर्छन्,’ चितवनसहित तराईका धेरैजसो जिल्लामा फड्के र गवारोलगायत किराको आक्रमणबाट धानबालीमा भएको क्षतिबारे विवरण माग्दा प्लान्ट क्वारेन्टाइन तथा विषादी नियन्त्रण केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने।
फौजी किराको आक्रमणबाट धान र मकैमा क्षति बढ्न थालेपछि तथ्यांक राख्न थालेको केन्द्रसँग फड्के र गवारो किराको क्षतिबारे औपचारिक जानकारी भने छैन।
‘हामी प्राविधिक सहयोग गर्छौं,’ बाँकी काम प्रदेशले नै हेर्छ,’ उनले भने।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पनि मन्त्रलायसँग तथ्यांक नरहेको स्वीकारे।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार जिल्लाका केही क्षेत्रमा सय प्रतिशतसम्म क्षति पुगेको छ।
‘किराको आक्रमण र पानी पर्नु सँगसँगै भयो। प्रयास गर्दागर्दै पनि नियन्त्रण गर्न सकिएन,’ उनले भने।
ढकालले यी किराको आक्रमणका कारण यो वर्ष जिल्लाको धान उत्पादनमा १० प्रतिशत कमी आउनसक्ने आँकलन गरिएको उनले बताए।
चितवनमा २७ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको केन्द्रको तथ्यांक छ। चिवतनमा गत वर्ष १ लाख ६ सय ७२ टन धान उत्पादन भएको थियो।